१२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका सरकारी गाडी एक आपसमा ठोक्किएका छन्। मंगलबार कैलालीको चिसापानीमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह कार्की सवार गाडी एक आपसमा ठोक्किएका हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार मन्त्री कार्की सवार से.१ झ ३३० नम्बरको गाडी र मन्त्री पाल सवार बा.२ झ १४१९ नम्बरको गाडी चिसापानीमा ठोक्किएको हो।
घटना दिउँसो करिब १ बजेर १५ मिनेटतिर भएको हो। प्रहरीका अनुसार ठक्करका कारण दुवै गाडीमा सामान्य क्षति पुगेको छ। पाल सवार गाडीको पछाडिको भाग र कार्की सवार गाडीको अगाडिको भाग क्षतिग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार गाडीमा सवार मन्त्रीहरू सकुशल रहेका छन् भने मानवीय क्षति भने भएको छैन। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो। मन्त्रीद्वय सोही कार्यक्रममा सहभागी हुन चिसापानीतर्फ जाँदै गर्दा दुर्घटना भएको जनाइएको छ।








