२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

राप्ती नदीमा १३३ घडियाल गोही छाडियो, संरक्षणमा चुनौती कायमै

चितवन, साउन १५ – चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको संरक्षण प्रयास स्वरूप प्रजनन केन्द्रमा हुर्काइएका थप १३३ वटा घडियाल गोही राप्ती नदीमा छाडेको छ। यीमध्ये दुईवटा भाले र बाँकी पोथी गोही रहेका छन्। गत आर्थिक वर्षको विभिन्न समयमा यी गोहीहरूलाई नदीमा छाडिएको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार, यस वर्ष छाडिएका गोहीहरूसहित हालसम्म प्रजनन केन्द्रमा हुर्काएर कुल २०९० वटा घडियाल गोही विभिन्न नदी प्रणालीहरूमा छाडिसकिएको छ। यीमध्ये सबैभन्दा बढी १३३५ वटा गोही राप्ती नदीमा छाडिएका छन्। अन्य नदीहरूमा छाडिएका गोहीको संख्या यस प्रकार छ: नारायणी: ४१९, सप्तकोशी: ११५, बबही: ११०, कर्णाली: ४१, कालीगण्डकी: ३५, शुक्लाफाँटाको चौधारा: २५, बाँकेको राप्ती: १०, अघिल्लो आर्थिक वर्षमा १०५ वटा गोही छाडिएको थियो, जसमध्ये २५ वटा शुक्लाफाँटामा र १० वटा बाँकेको राप्तीमा पठाइएको थियो भने बाँकी राप्ती नदीमा छाडिएका थिए। गत वर्ष छाडिएका गोहीहरू सन् २०२० मा कोरलिएका बच्चा हुन्। 

घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल गोही अहिले नेपाल र भारतमा मात्र सीमित रहेको छ। सन् १९४० को दशकमा विश्वभर यसको संख्या करिब १० हजार रहेको अनुमान गरिए पनि सन् १९७० सम्म आइपुग्दा यो संख्या २ प्रतिशतमा झरेपछि यसको संरक्षणमा विश्वव्यापी चासो बढेको संरक्षणकर्मीहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो। त्यतिखेर देशभरमा १०० भन्दा कम घडियाल गोही रहेको अनुमान थियो।

हरेक वर्ष ठूलो संख्यामा गोहीहरू नदीमा छाड्ने गरिए तापनि प्राकृतिक वासस्थानमा गोहीको संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन। गत वर्ष (२०८१ पुस) मा राप्ती र नारायणी नदीमा गरिएको गोही गणनामा ३५२ वटा मात्र गोही भेटिएका थिए, जुन चिन्ताजनक अवस्था हो। निकुञ्जका सूचना अधिकारी थापामगरका अनुसार, नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थको अत्यधिक उत्खनन्, प्रदूषण, र मानिसले माछा मार्ने जस्ता गतिविधिहरूले गोहीहरूलाई उनीहरूको प्राकृतिक बासस्थानमा असुरक्षित बनाएको छ। यसका साथै, नदीहरूमा आउने बाढीले गोहीहरू बगेर सीमापारि पुग्ने समस्या पनि रहेको छ। यी चुनौतीहरूका कारण गोहीको संख्यामा अपेक्षाकृत वृद्धि हुन नसकेको विज्ञहरूले बताएका छन्। हाल प्रजनन केन्द्रमा ७८२ वटा गोही रहेका छन्। तीमध्ये यस वर्ष कोरलिएका बच्चा १८५, अघिल्लो वर्षका १५३ र बाँकी त्यसअघिका वर्षका हुन्। केन्द्रमा एउटा पुरानो भाले गोही मात्र रहेको र अन्यको लिङ्ग छुट्याइएको छैन।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।