साउन १६– गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिनको पार्टीबाट पक्राउ परेका १९ जनालाई कम्तीमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ। गएराति महाराजगञ्जको एक होटलबाट कुल ४७ जना पक्राउ परेका थिए। तीमध्ये, २८ जनालाई प्रहरीले सोधपुछपछि छोडिदिएको थियो भने बाँकी १९ जनालाई अभद्र व्यवहारको आरोपमा अनुसन्धानका लागि हिरासतमा राखिएको हो।
काठमाडौँका एसपी कुलदीप चन्दका अनुसार हिरासतमा रहेका १९ जनामा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी र राहुल खड्का लगायतका व्यक्तिहरु रहेका छन्। यस समूहमा केही होटलका ग्राहक तथा अन्य असंलग्न व्यक्तिहरु पनि छन्। पहिलोपटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान हुने मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था रहेको छ। प्रहरीले अब यी १९ जनामाथि थप अनुसन्धान गर्नेछ।












