साउन १६, सिन्धुली–सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१, बस्तीपुरमा शुक्रवार दिउँसो रुख ढलेर किच्दा दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना बालबालिका घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार, यो दुखद घटना दिउँसो करिब ३:३० बजेतिर भएको हो। लगातारको वर्षा र पहिरोका कारण एउटा ठूलो सालको रुख नजिकैको टहरामा ओत लाग्न बसिरहेका बालबालिकाहरूमाथि ढलेको थियो।
रुखले किच्दा ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन्। घाइतेमध्ये सिर्जना माया र सन्ध्या भोलनको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि हेटौँडा रिफर गरिएको छ। अर्का घाइते सुशील थिङको भने स्थानीय पाँचपाण्डव पोलिक्लिनिकमा उपचार भइरहेको छ।












