स्पेनको बार्सिलोनामा सगरमाथा आरोहण सफल पारेका अक्कल बोहरालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले विशेष सम्मान प्रदान गरेको छ। सगरमाथा चढेर कर्णाली प्रदेश र स्पेनमा रहेका नेपालीको गौरव बढाएको भन्दै उनलाई सम्मान गरिएको हो। बुधबार सम्पन्न एनआरएनए स्पेनको नवौं राष्ट्रिय महाधिवेशनको विशेष समारोहमा बोहरालाई सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत र विशेष अतिथि स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले उनलाई सम्मानपत्र प्रदान गर्दै हौसला दिए। सम्मानपत्रमा लेखिएको छ, ‘अद्वितीय साहस, अठोट र परिश्रमले सगरमाथा सफलतापूर्वक आरोहण गरी आफू र समग्र कर्णाली प्रदेशलाई विश्वसामु चिनाउनुभएको तथा स्पेनवासी नेपाली समुदायलाई गौरव गर्ने अवसर गराइदिनुभएकोले उच्च सम्मान प्रदान गरिएको हो।’
सम्मान ग्रहण गर्दै अक्कल बोहरा निकै भावुक बने। उनले आफ्नो बाल्यकालका कठिन संघर्षहरू सुनाए। ‘म ५-६ वर्षको उमेरमा अर्काको घरमा काम गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘कुनै दिन गुलियो खान मन लागेमा पशुपतिमा शवमा चढाएका पैसा जम्मा गरेर चकलेट किनेर खानुपर्थ्यो।’ उनले जीवनमा मेहनत गरे सबै सम्भव छ भन्ने कुरा आफ्नो कथाबाट बुझ्न सकिने बताए। यो सम्मानले आफूलाई थप सामाजिक काम गर्न प्रेरित गरेको भन्दै उनले भविष्यमा पनि समाजसेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका-१३ मा जन्मिएका बोहरा हाल स्पेनको अलिकान्तेमा बसोबास गर्छन्। उनी पूर्व म्याराथन धावक, व्यवसायी र समाजसेवी पनि हुन्। सन् २०२५ मे १९ तारिखमा उनले सगरमाथाको सफल आरोहण गरेका थिए। स्पेनको आल्भिर सहरमा ‘रारा कफी बार’ सञ्चालन गर्ने बोहराले ‘अक्कल कोपिला फाउन्डेसन’ मार्फत भूकम्प, बाढी, आगलागी, मिर्गौला रोग र विपन्न वर्गलाई करिब दुई करोड रुपैयाँभन्दा बढी सहयोग गरिसकेका छन्। साथै, उनी आफ्नो गाउँमा विद्यालय, बाटो र अन्य पूर्वाधार विकासमा पनि सक्रिय छन्।












