नेपालकी प्रतिभाशाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले मलेसियामा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा कांस्य पदक जित्न सफल भएकी छिन्। यो पदक उनले शुक्रबार प्राप्त गरेकी हुन्। मलेसियाको कुचिङमा भएको यस प्रतिष्ठित प्रतियोगितामा पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन्। पदकका लागि भएको महत्त्वपूर्ण खेलमा उनले उज्वेकिस्तानकी खेलाडी जुरेवा कमोलालाई हराउँदै कांस्य पदकमाथि कब्जा जमाइन्। प्रशिक्षक कविराज नेगी लामाले पलेशाको यो जितले नेपालको गौरव बढाएको बताए।
पेरिस पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक जितेर नेपाललाई पहिलो पटक विश्व खेलकुदको नक्सामा उभ्याएकी पलेशाको यो अर्को महत्त्वपूर्ण उपलब्धि हो। हाल चीनको सांघाईमा अध्ययन गरिरहेकी उनी प्रतियोगितामा भाग लिनका लागि सीधै त्यहीँबाट मलेसिया पुगेकी थिइन्। जुलाई २४ देखि अगस्ट १ तारिखसम्म चलेको यस प्रतियोगितामा पलेशासहित नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा पुरुषतर्फ ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर भ्लोन सहभागी भएका थिए। महिलातर्फ भने ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले पनि प्रतिस्पर्धा गरेका थिए। नेपाली टोलीको व्यवस्थापकको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठले सम्हालेका थिए।












