झापा। साउन २०८२– वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याइएका सात नेपाली किशोरीलाई भारतीय प्रहरीले उद्धार गरेको छ। उनीहरूलाई मानव बेचबिखनको आरोपमा दुईजना पुरुषलाई पनि पक्राउ गरिएको छ। माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार, यी किशोरीहरूलाई भारतको सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरिएको हो। उद्धार गरिएका किशोरीहरू सङ्खुवासभा जिल्लाका रहेको बताइएको छ। उनीहरूलाई हङकङमा रोजगारी दिलाइदिने भन्दै नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै भारत पुर्याइएको थियो। अभियुक्तहरूले किशोरीहरूको नक्कली कागजात र आधार कार्ड बनाउन सिलिगुढी लैजाने तयारी गरिरहेको बेला भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
मानव तस्करीको आरोपमा पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ र सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन्। यी दुवैजनालाई भारतीय प्रहरीले खोरीबारी प्रहरी थानामा राखेर अनुसन्धान गरिरहेको छ। भारतीय प्रहरीले उद्धार गरेका सातैजना किशोरीलाई नेपाल फर्काउने पहल भइरहेको छ। माइती नेपालका संयोजक घिमिरेको टोली किशोरीहरूलाई नेपाल फिर्ता ल्याउनका लागि पानीटङ्की पुगेको भए पनि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनीहरू हाल खोरीबारी प्रहरीको नियन्त्रणमै छन्। यसबारेमा इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई भने भारतीय पक्षबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताइएको छ।












