२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

सिरहाको छोटी भन्सारबाट राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि

सिरहा। १७ साउन २०८२– सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यो छोटी भन्सार कार्यालयले व्यापारिक गतिविधिमा आएको सुधारका कारण राजस्व सङ्कलनमा निरन्तर वृद्धि देखाएको हो। भन्सार कार्यालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९-८० मा यस भन्सारले जम्मा १९ लाख ६६ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो। तर, त्यसपछिको वर्ष अर्थात् २०८०-८१ मा यो सङ्ख्या बढेर ४६ लाख ५० हजार रुपैयाँ पुग्यो। गत आर्थिक वर्ष २०८१-८२ मा भने राजस्व सङ्कलन ७० लाख ६ हजार रुपैयाँ पुगेर कीर्तिमानी वृद्धि भएको छ। यसले मासिक सरदर ६ लाख रुपैयाँको हाराहारीमा राजस्व सङ्कलन भइरहेको देखाउँछ।

छोटी भन्सार कार्यालयका प्रमुख शम्भु केसीले राजस्व वृद्धिका पछाडि केही प्रमुख कारण रहेको बताएका छन्। उनका अनुसार, भारतसँगको सीमावर्ती व्यापारिक गतिविधिमा भएको विस्तार, भन्सार चेकपोइन्ट व्यवस्थापनमा गरिएको सुधार र आयातकर्ताहरूको सक्रियताले राजस्व बढाउन सहयोग पुगेको हो। यो नाकाबाट सामान्यतया खाद्यान्न, किराना, खेलौना, सजावटका सामग्री र मेलापर्वका लागि आवश्यक वस्तुहरू आयात हुने गरेका छन्।

स्थानीय व्यवसायीहरूले पनि भन्सारको सेवा प्रवाहमा आएको सुधारको प्रशंसा गरेका छन्। स्थानीय व्यापारी मुकेशकुमार यादवले पहिले सामान ल्याउँदा धेरै झन्झट हुने गरेकोमा अहिले प्रक्रिया छिटो र सहज भएको बताएका छन्। यसले व्यवसाय गर्न सहज वातावरण बनेको उनको भनाइ छ। भन्सार प्रमुख केसीले चाडपर्व नजिकिँदै गर्दा व्यापारिक गतिविधि अझ बढ्ने र त्यसबाट राजस्व सङ्कलन थप उच्च हुने अपेक्षा व्यक्त गरेका छन्। सिरहा जिल्लामा माडर र ठाडी गरी दुईवटा मूल भन्सार र एउटा छोटी भन्सार सञ्चालनमा रहेका छन्।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।