रौतहट। शनिबार, १७ साउन २०८२ – रौतहटको ईशनाथ नगरपालिका–२ स्थित बनाना रिसोर्टमा आज बिहान भीषण आगलागी भएको छ। बिहान पौने चार बजे लागेको आगोले रिसोर्टमा रहेका सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। रिसोर्टका सञ्चालक राकेश गुप्ताका अनुसार, यो रिसोर्ट नेपाल सरकार र जौहरीमाई कृषि तथा सहकारी संस्थाको साझेदारी लगानीमा निर्माण भएको थियो। यसको निर्माण लागतमध्ये आधा रकम नेपाल सरकार र बाँकी निजी क्षेत्रबाट लगानी भएको थियो। आगलागीमा करिब १५ लाख रुपैयाँ बराबरका कृषि उपकरण, खाद्यान्न, फर्निचर, फ्रिज र अन्य विद्युतीय सामग्रीहरू पूर्ण रूपमा जलेर खरानी भएका छन्।
घटनाको जानकारी पाएलगत्तै स्थानीय सशस्त्र प्रहरी बलको बीओपी औरैया, ईशनाथ प्रहरी चौकी र नगरपालिकाको दमकल टोली घटनास्थलमा पुगेर स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार, आगलागीको मुख्य कारण विद्युत् सर्ट भएको हुन सक्ने आशङ्का गरिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताएका छन्। विशेष गरी नेपालीका साथै भारतीय पर्यटकहरूका लागि समेत आकर्षणको केन्द्र बनेको यो बनाना रिसोर्ट सञ्चालनमा आएदेखि नै लोकप्रिय थियो।












