काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि न्याय नपाएको अवस्थामा गृहमन्त्री रमेश लेखकले यो बहुचर्चित प्रकरणको अनुसन्धानलाई नयाँ शिराबाट गम्भीरतापूर्वक अघि बढाउन निर्देशन दिएका छन् । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालय निरीक्षण गर्ने क्रममा मन्त्री लेखकले अनुसन्धानमा कुनै पनि कसर बाँकी नराख्न र दोषीलाई कानुनको कठघरामा ल्याउन निर्देशन दिएका हुन्।
गृहमन्त्री लेखकले आम जनताको नेपाल प्रहरी, विशेषगरी सीआइबीप्रति भरोसा बढेको उल्लेख गर्दै त्यसलाई कायम राख्न थप जिम्मेवारी र लगनका साथ काम गर्न आग्रह गरे । उनले भने, “नेपाल प्रहरीभित्र पनि सीआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ।” उनले सीमित साधनस्रोतका बाबजुद सीआइबीले गरेका सफल कार्यहरूको प्रशंसा गर्दै ब्युरोलाई थप साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको प्रतिबद्धता व्यक्त गरे । मन्त्री लेखकले प्रहरीको समग्र क्षमता बढाउन चालू आर्थिक वर्षमा बजेट वृद्धि गरिएको जानकारी दिँदै प्रविधि र जनशक्ति विकासमा जोड दिने बताए ।
निर्मला प्रकरणका साथै गृहमन्त्रीले अन्य जटिल र संवेदनशील घटनाहरूको अनुसन्धानलाई पनि तीव्रता दिन निर्देशन दिएका छन् । उनले पछिल्लो समय मुलुकमा वित्तीय अपराध बढेकोतर्फ संकेत गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि हालै वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरिएको जानकारी पनि दिए । निरीक्षणका क्रममा सीआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले ब्युरोले गरिरहेका अनुसन्धान, प्राप्त सफलता र सामना गरिरहेका चुनौतीहरूका बारेमा एक विस्तृत प्रस्तुति दिएका थिए । उनले निर्मला पन्तसहित अन्य महत्त्वपूर्ण घटनाहरूको अनुसन्धान निरन्तर जारी रहेको जानकारी दिए। कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र सीआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतका उच्च प्रहरी अधिकारीहरूको उपस्थिति थियो। गृहमन्त्रीको यो निर्देशनले वर्षौँदेखि न्यायको प्रतीक्षामा रहेको निर्मला पन्तको परिवारलाई आशाको किरण दिएको छ भने प्रहरीको अनुसन्धान प्रक्रियामा थप दबाब सिर्जना गरेको छ।









