माघ ९, पोखरा — छैटौं एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र टिपटप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले विजयी सुरुआत गरेका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशाला भलिबल कोर्टमा प्रतियोगिता सुरु भएको हो । महिलातर्फको खेलमा न्यू डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । न्यू डायमन्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित्दै सहज सुरुआत गरेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमन्डकी सालिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
पुरुषतर्फ आर्मीले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा हराउन सफल भयो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पार्यो । खेलमा आर्मीका सुनिल बोहोरा ‘प्लेयर अफ द म्याच’ बने ।
शुक्रबारको अन्तिम खेलमा एपीएफले घरेलु टोली गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २७–२५ ले रोमाञ्चक जित निकालेको एपीएफले तेस्रो सेट भने गुमाएको थियो । गण्डकीले तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दा खेल चौंथो सेटमा पुगेको थियो । तर, चौंथो सेटमा एपीएफले २५–२१ ले जित्दै सुखद् सुरुआत गर्यो । उक्त खेलमा एपीएफका उपेन्द्र परियार ‘प्लेयर अफ द म्याच’ बने ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर राष्ट्रको अर्थतन्त्र माथि उठाउने महत्त्वपूर्ण माध्यम रहेको बताए । उनले सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएको उल्लेख गर्दै भने, ‘नेपाल जस्तो भौगोलिक र सानो ठाउँमा समेत भलिबल खेल खेल्न सकिने भएको र सबैको पहुँचमा रहेको कारणले पनि भलिबल खेलको लोकप्रियता बढेको छ ।’
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले पोखरा जस्तो पर्यटकीय सहरमा आएर भलिबल खेलको उद्घाटनमा उपस्थित हुन पाउँदा आफूलाई निकै गौरव र खुशीको महसुस भएको बताए ।
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले टाइगर ग्रुपले आयोजना गरेको प्रतियोगिताले नेपाली भलिबल खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले मुलुकको विषम परिस्थितिमा समेत आफूहरूले यो प्रतियोगितालाई निरन्तरता दिँदै भलिबल खेलमार्फत पोखरालाई विश्वसामु चिनाउन पहल गरेको बताए ।
तीनजनालाई सम्मान
उद्घाटन समारोहमा भलिबल खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने तीनजनालाई टाइगर ग्रुप अफ पोखरा नेपालले सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्व भलिबल खेलाडी तथा कास्की जिल्ला भलिबलका पूर्व सदस्य राजकुमार अधिकारी, न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राई र राष्ट्रिय खेलाडी हिमाल सुनारी मगर रहेका छन् । उनीहरुलाई प्रदेश प्रमुख भट्ट, संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा, प्रतियोगिताका संयोजक राजकुमार गुरुङलगायतले दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरेका थिए ।
प्रतियोगिताअन्तर्गत शनिबार ४ खेल हुनेछन् । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच बिहान साढे ८ बजेदेखि खेल सुरु हुनेछ । दोस्रो खेल महिलातर्फ एपीएफ र थाइल्यान्ड क्विन्सबीच हुनेछ ।
पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएसनबीच हुनेछ । दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबीच हुनेछ ।
१७ माघसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । विजेता हुने टोलीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र तेस्रो हुने टोलीले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ र विधागततर्फ उत्कृष्ट खेलाडीले जनही ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।








