काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी कटौती गरेकाे छ। निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको
मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाएको हो। त्यस्तै खाना पकाउने ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको छ, भने हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसादेखि १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ ५० पैसादेखि १९५ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसादेखि २१७ र डिजेल प्रतिलिटर २२२ रुपैयाँ ५० पैसादेखि २२५ रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा यो मूल्य तोकिएको निगमले जनाएको छ।












