२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग भिड्ने भएको छ ।

अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिनाले स्पेनसँग उपाधि भेट पक्का गरेको हो ।एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै इंग्ल्यान्डलाई हराएको हो । विश्वकपमा सातौं पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिनाले सेमिफाइनलमा अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

अब अर्जेन्टिना र स्पेन बीच फाइनल खेल जुलाई २० सोमबार बिहान अमेरिकाको न्यु योर्क न्युजर्सी स्टेडियममा हुनेछ । यस्तै तेस्रो स्थानको लागि आइतबार बिहान फ्रान्स र इंग्ल्यान्ड बीच खेल हुनेछ ।

साविक विजेता अर्जेन्टिनाले समूह चरणको खेलमा सहज जित हात पारे पनि नकआउट चरणका खेलहरुमा संघर्ष गर्दै आएको थियो । नकआउट चरणमा अन्तिम समयमा गोल गर्देै खेल जित्नेदेखि कमब्याक जित हात पार्ने अर्जेन्टिनाले सेमिफाइनलमा पनि त्यही गर्‍यो ।

अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेका थिए । यस्तै  अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै अर्जेन्टिनाले शतप्रतिशत नतिजा सहित समूह विजेता बनेर नकआउट चरणको यात्रा तय गरेको थियो ।

राउण्ड अफ ३२ मा डेब्युटान्ट केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको अर्जेन्टिनाले प्रि क्वाटरफाइनलमा इजिप्ट विरुद्ध अन्तिम समयमा पुनरागमन गर्दै ३-२ कै जित हात पारेको थियो ।

यस्तै क्वाटरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दे लगातार दोस्रो पटक सेमिफाइनल पुगेको थियो ।

अर्कोतर्फ सन् २०१० को विजेता स्पेनले १६ वर्षपछि विश्वकपमा फाइनलमा स्थान बनाउँदा अपराजित छ । पहिलो खेलमै नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले दोस्रो खेलमा साउदी अरेबियालाई ४–० ले हराएर पहिलो जित हात पार्‍यो । त्यसपछि समूहको अन्तिम खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन आफ्नो समूहको विजेता बनेको थियो ।  स्पेनले राउण्ड अफ ३२ मा अस्ट्रियालाई ३-० ले सहजे पराजित गरेको थियो भने प्रिक्वाटरफाइनलमा छिमेकी पोर्चुगललाई १-० ले पराजित गर्‍यो । क्वाटरफाइनलमा पुग्दासम्म स्पेनले कुनै गोल बेहोरेको थिएन । तर क्वाटरफाइनलमा बेल्जियमलाई २-१ ले पराजित गर्दा स्पेनले पहिलो गोल बेहोर्‍यो ।

प्रि क्वाटरफाइनल र क्वाटरफाइनलमा सुपर सब मिकेल मेरिनोको निर्णायक गोलमा स्पेनले जित हात पारेको थियो । पहिलो खेलमा बराबरी खेलेयता स्पेनले त्यसपछिका ६ खेल निर्धारित समयमै जित्दै आएको छ ।अब फाइनलमा उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना र १६ वर्षपछि फाइनल पुगेको स्पेन बीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।