२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)

 

काठमाडौँ । वाणिज्य बैंकहरूले आजदेखि कार्यान्वयन हुनेगरी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन ।  असार महिनाको तुलनामा साउनमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ । साउन महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये केही बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन् । 

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले व्यक्तिगत तर्फ ०.७५ प्रतिशत र संस्थागत तर्फ १ प्रतिशतले ब्याजदर कटौती गरेको छ ।  त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगतमा ०.५ प्रतिशत र संस्थागतमा ०.२५ प्रतिशतले ब्याजदर घटाउँदा एनएमबि बैंकले व्यक्तिगतमा ०.२५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले घटाएको छ । 
त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा ०.१५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले ब्याजदर घटाएको छ । 

कृषि विकास बैंकले संस्थागत तर्फ ०.०३ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ भने कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत तर्फ मात्र क्रमशः ०.०६ प्रतिशत र ०.१ प्रतिशतले ब्याजदर कम गरेका छन्।

यद्यपि, अधिकांश वाणिज्य बैंकहरूले भने असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् । नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया र प्राइम कमर्सियल गरी १२ वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । 

घट्दो ब्याजदरको यस प्रवृत्तिका बिच नेपाल बैंक लिमिटेडले भने संस्थागत तर्फको ब्याजदर अधिकतम ब्याजदरलाई ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याएको छ । ४ वर्ष वा सोभन्दा लामो अवधिको संस्थागत मुद्दतीमा नेपाल बैंकले सो बराबरको ब्याजदर तोकेको हो । यद्यपि यसको व्यक्तिगत तर्फको ब्याजदर भने ४.२५ प्रतिशतमा नै स्थिर रहेको छ।

नयाँ प्रकाशित दर अनुसार, साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर नबिल बैंक र प्रभु बैंकले दिनेछन् । यी दुई बैंकले व्यक्तिगत तर्फ अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन् । 

अर्कोतर्फ, व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ, जहाँ ग्राहकले अधिकतम ब्याजदर नै ३.८५ प्रतिशत मात्र ब्याज पाउनेछन्। 

संस्थागत मुद्दती निक्षेपको हकमा भने नेपाल बैंकले सबैभन्दा धेरै ४ प्रतिशत ब्याज दिनेगरी तोकेको छ । प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम २.७५ प्रतिशत मात्र ब्याजदर तोकेका छन्।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।