काठमाडौं : मुलुकमा आज (शुक्रबार) देखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएको छ ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको आम्दानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भइसकेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको नयाँ बजेट कार्यान्वयनमा आएको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको आर्थिक गतिविधिलाई गति दिन र सेयर बजारको स्थायित्वका लागि नेपाल राष्ट्र बैङ्कलाई मौद्रिक नीतिमार्फत आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलसँग भएको करिब एक घण्टा लामो छलफलमा प्रधानमन्त्रीले उक्त आग्रह गरेका हुन् ।

यस पटकको बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ चार खर्ब ३१ अर्ब ९० करोड र वित्तीय व्यवस्थातर्फ चार खर्ब २२ अर्ब ६४ करोड रुपियाँ विनियोजन गरेका छन् ।
बजेटका नयाँ व्यवस्थाहरूमा व्यक्तिका लागि आयकर छुटको सीमा वार्षिक १० लाख रुपियाँ पुर्याइएको छ भने कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि गरिएको छ। त्यस्तै, डिजिटल भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम तुरुन्तै फिर्ता हुने व्यवस्था, राइड सेयरिङमा स्थायी लेखा नम्बर (PAN) अनिवार्य, र निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा थप तीन प्रतिशत समता शुल्क लागु गर्ने जस्ता नयाँ व्यवस्थाहरू समावेश गरिएका छन् ।












