जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीकै गठबन्धन कायम रहने भएको छ । यही गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेका तीन वटै दल मन्त्रालयको सङ्ख्या कटौती र मन्त्री हेरफेरको तयारीमा जुटेका छन् । मधेस सरकारमा हाल १२ वटा मन्त्रालय छन् । मन्त्रालय सङ्ख्या घटाएर ९ वटा मात्र राख्ने गृहकार्य सुरु भएको गठबन्धनका नेताहरूको भनाइ छ ।
वन तथा पर्यटनलाई गाभेर एउटै मन्त्रालय बनाउने, वाणिज्यलाई गृहमा गाभ्ने, शिक्षालाई सामाजिक विकास मन्त्रालय अन्तर्गत राख्ने गृहकार्य भएको स्रोतले जनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्य रत्नेश्वर यादवले बजेट आइसकेको अवस्थामा आफ्नो पार्टीले सरकारमा नयाँ सदस्य पठाउने तयारी गरेको जानकारी दिए । उनले लालबिहानीसँग कुरा गर्दै भने, ‘साउन १५ गतेभित्र मन्त्रिपरिषदका सदस्य हेरफेर हुनसक्छ ।’ एक वर्ष पूरा गरेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ प्रतिनिधि पार्टीले पठाउने उनको भनाइ छ ।
यादवले पनि मन्त्रालयको सङ्ख्या घटाउने गृहकार्य सुरु भइसकेको जानकारी दिए । १२ मन्त्रालय हुँदा हाल सरकारमा रहेका ३ वटै दलले ४/४ मन्त्रालय लिएका थिए । गठबन्धन दलहरूबिच भएको सहमति अनुसार अब कांग्रेस र एमालेले ३/३ मन्त्रालय र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २ वटा मन्त्रालय पाउने छ ।












