काठमाण्डौ : फ्रान्सेली स्टार फरवार्ड किलियन एम्बाप्पेले आधुनिक विश्व फुटबलका सबैभन्दा प्रभावशाली खेलाडीमध्येमा आफूलाई स्थापित गरेका छन् ।
असाधारण गति, सशक्त फिनिसिङ, उत्कृष्ट ड्रिब्लिङ र निर्णायक क्षणमा खेलको नतिजा बदल्ने क्षमताका कारण एम्बाप्पेले पछिल्ला केही वर्षयता विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । युवा उमेरमै क्लब र राष्ट्रिय टोली दुवैतर्फ उल्लेखनीय सफलता हासिल गरेका उनी निरन्तर नयाँ उपलब्धि र कीर्तिमानतर्फ अघि बढिरहेका छन् ।
फिफा विश्वकप २०२६ को उपाधि फ्रान्सले जित्न नसके पनि एमबाप्पेले व्यक्तिगत उपलब्धिको कीर्तिमान भने आफ्नो नाममा लेखाए । स्पेनसँग सेमिफाइनलमा पराजित भएपछि पनि उनले तेस्रो स्थानको खेलमा इङ्ल्यान्डविरुद्ध दुई गोल गर्दै फिफा विश्वकप इतिहासका कैयौं कीर्तिमान भंग गरेका थिए । २७ वर्षकै उमेरमा उनले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेदेखि एकै संस्करणमा १० गोल गर्ने दुर्लभ उपलब्धिसम्म आफ्नो नाममा लेखाए ।
एमबाप्पेले विश्वकप २०२६ मा बनाएको सबैभन्दा ठूलो कीर्तिमान भने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नु हो । तेस्रो स्थानको खेलअघि उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीको २१ गोलको कीर्तिमान बराबरी गर्ने दौडमा थिए । इङ्ल्यान्डविरुद्ध दुई गोल गरेपछि उनको विश्वकपमा गोल संख्या २२ पुग्यो र उनले मेसीलाई पछि पार्दै नयाँ इतिहास रच्न सफल भए । एमबाप्पेको यो उपलब्धि अझ विशेष यसकारण पनि छ कि उनले विश्वकपका तीन संस्करणमै यो आँकडा पूरा गरेका हुन्। उनले सन् २०१८ को रूस विश्वकपमा चार, सन् २०२२ को कतार विश्वकपमा आठ र यस पटकको विश्वकपमा १० गोल गरेका छन्।
विश्वकपको एकै संस्करणमा १० गोल गर्नु आधुनिक फुटबलमा अत्यन्तै दुर्लभ उपलब्धि मानिन्छ । सन् १९७० मा जर्मनीका गर्ड मुलरले १० गोल गरेपछि कुनै खेलाडीले त्यो आँकडा हुन सकेका थिएनन् । पाँच दशकभन्दा बढी समयपछि एमबाप्पेले फेरि त्यो उपलब्धि हासिल गरेका हुन् ।
एम्बाप्पेको खेलशैलीलाई विश्लेषकहरूले आधुनिक फुटबलको उत्कृष्ट उदाहरणका रूपमा लिने गरेका छन् । उनी केवल गोलकर्ता मात्र होइनन्, टोलीका लागि अवसर सिर्जना गर्ने, विपक्षी रक्षापंक्तिलाई दबाबमा राख्ने र कठिन परिस्थितिमा पनि खेलको लय परिवर्तन गर्ने क्षमताका लागि परिचित छन् । यही कारण प्रशिक्षक र पूर्वखेलाडीहरूले उनलाई वर्तमान पुस्ताका सर्वश्रेष्ठ खेलाडीमध्ये एक मान्ने गरेका छन्।
गोल्डेन बुटको उपाधि एमबाप्पेले जित्दा गोल्डेन बल अवार्ड भने स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज कासान्ते (रोड्री) ले जितेका छन् । स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेयर अफ द टुर्नामेन्ट बन्दै गोल्डेन बल जितेका हुन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सिल्भर बल जिते भने फ्रान्सका कप्तान एमबाप्पेले ब्राउन्ज बल जिते । यस्तै स्पेनका गोलरक्षक उनाई सिमोनले गोल्डेन ग्लोभ्स अवार्ड जिते भने स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते ।












