काठमाण्डौ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत करबाट सरकार पछि हटेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट भाषण गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशतका दरले समता कर लगाएका थिए । उक्त कर साउन १ गतेदेखि लागू भएको थियो । प्रधानमन्त्री बालेन शाहले उक्त कर नलिने बताएका छन् ।
‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।
सरकारले निजी शिक्षाको समता करबाट वार्षिक २ अर्ब २१ करोड रुपैयाँ र स्वास्थ्यबाट २ अर्ब ३८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो ।
प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि समता कर नलिने निर्णय गरिएको उल्लेख गरेका हुन् ।
सोमबार मात्रै यस करबाट कति राजश्व उठ्ने र प्रभाव के हुने भन्ने विषयमा अर्थमन्त्रीले मातहत कर्मचारीहरूसँग छलफल गरेका थिए ।
कर रकम थोरै भए पनि वैधानिक कारोबारका लागि र आयकर वृद्धिमा यसको योगदान हुन सक्ने रिपोर्टिङ कर्मचारीहरूको थियो।












