एजेन्सी : पहिलोपटक, अनुसन्धाताहरूले टाढाको तारामा परिक्रमा गरिरहेको पृथ्वी जस्तो चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन्।
पृथ्वी जस्तै अवस्था भएका ग्रहहरू हाम्रो सौर्यमण्डल बाहिर अवस्थित हुन सक्छन् भन्ने यो खोज अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धाताहरूको दाबी छ। वैज्ञानिकहरुका अनुसार यस ग्रहको वायुमण्डलमा हेलियम ग्यास पाइन्छ। हेलियम जीवनको लागि उपयुक्त मानिएको छैन तर त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ।
नयाँ अनुसन्धानका प्रमुख लेखक, हार्वर्ड विश्वविद्यालयका डा. कोलिन चेरुबिमले पछिल्लो खोजलाई ठूलो उपलब्धि भनेका छन्। ‘कुनै अर्को तारा रहन योग्य क्षेत्रमा अवस्थित चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको यो पहिलो पटक हो’‚ उनले भने। एलएचएस ११४० बी नामको यो ग्रह पृथ्वीबाट ४८ प्रकाश वर्ष टाढा छ। यसले रातो ताराको परिक्रमा गर्छ, जुन हाम्रो सूर्यभन्दा धेरै सानो र चिसो छ।
अहिलेसम्म वैज्ञानिकहरूले टाढाका ताराहरूको परिक्रमा गर्ने ६,००० भन्दा बढी ग्रहको अनुसन्धान गरिसकेका छन्। विज्ञानको सबैभन्दा ठूलो लक्ष्यहरूमध्ये एक अर्को ग्रहमा जीवनको खोजीतर्फ अर्को महत्त्वपूर्ण कदम भएकाले नयाँ खोज विशेष ठानिएको छ।
साइन्स पत्रिकामा प्रकाशित यस अनुसन्धानका लेखकले अहिलेसम्म कुनै अर्को ग्रहमा जीवनको खोज नगरेको बताएका छन्। ‘कुनै पनि ग्रहमा जीवनको सम्भावनाका लागि पानी हुनु आवश्यक छ। पानी तब मात्र अस्तित्वमा रहन सक्छ जब ग्रह आफ्नो तारादेखि सही दूरीमा हुन्छ’‚ उनले भनेका छन्।
ग्रह विज्ञहरूले यसलाई ‘गोल्डिलक्स जोन’ नाम दिएका छन्। एक लोककथाकी केटी गोल्डिलक्सको नाममा राखिएको हो। अहिलेसम्म वैज्ञानिकहरूले आ–आफ्नो ताराहरूको गोल्डिलक्स क्षेत्रमा सयौं ग्रह पत्ता लगाएका छन्।
तर तिनीहरूमध्ये केही दर्जन मात्र पृथ्वी जस्तै साना र चट्टानी छन्। त्यस्ता ग्रहमा जीवनको सम्भावना हुन सक्छ भनि यो पनि एक महत्वपूर्ण संकेत हो। तर अहिलेसम्म यी कुनै पनि ग्रहमा वायुमण्डल फेला परेको छैन। यो पहिलो पटक भएको हो।
यद्यपि, अहिलेसम्म यस ग्रहको वायुमण्डलमा मात्र हेलियम ग्यास पत्ता लागेको छ। यो माथिल्लो वायुमण्डलमा अवस्थित हुनसक्छ र हेलियम मात्र जीवनका लागि अनुकूल होइन। वायुमण्डलको तल्लो तहमा जीवनका लागि उपयुक्त अन्य ग्यास हुन सक्ने वैज्ञानिकहरु ठान्दछन्।
हार्वर्ड विश्वविद्यालयका डा. डेभिड चारबोन्यूले हाम्रो सौर्यमण्डल बाहिर पहिलोपटक पृथ्वी जस्तो ग्रहमा वायुमण्डल फेला परेको छ, जुन सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए।
“मानिसहरू सधैं हामी ब्रह्माण्डमा एक्लै छौं? के पृथ्वी बाहिर जीवन छ वा हाम्रो सौर्यमण्डल? जस्ता ठूला प्रश्नहरूको जवाफ जान्न चाहन्छन्। हाम्रो सौर्यमण्डल बाहिर ताराको बसोवासयोग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको पहिलोपटक भएकाले यो अध्ययन ठूलो उपलब्धि हो”‚ उनले भने।
यद्यपि, जीवनको खोजीमा, वैज्ञानिकहरूले एलएचएस ११४० बी मात्र मात्र हेरिरहेका छैनन्। के टू–१८ बी नामको अर्को उप–नेप्च्यून ग्रहमा पनि वैज्ञानिकहरको विशेष चासो छ। यसभित्र पानीले भरिएको भाग हुन सक्छ भन्ने विश्वास गरिएको छ।
यो ग्रह वैज्ञानिकहरूले त्यहाँ डाइमिथाइल सल्फाइड नामक ग्यासको संकेत देखेपछि मात्र चर्चामा आयो। पृथ्वीमा यो ग्यास समुद्री जीवनसँग सम्बन्धित मानिन्छ। तर सन् २०२५ मा नासाको नेतृत्वमा गरिएको पुनर्विश्लेषणले यो संकेत त्यसको पुष्टि गर्न पर्याप्त नभएको देखायो। यसका साथै यो ग्यास जीवनबिना पनि प्राकृतिक प्रक्रियाद्वारा बन्न सक्ने देखियो।












