पोवाङ , साउन ९ : रोल्पाको सुनछहरी गाउँपालिका-१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा २ महिला पुरिएका छन् । केही पशुचौपाया पनि पुरिएको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासि पहिरो खसेको थियो। पहिरोमा गोठालासहित पशुचौपाया पुरिएका हुन् । गाउँलेका अनुसार गोठाला गएका दुई महिलाको ज्यान गएको छ। स्थानीयले मृतकको परिचय खुलाए पनि प्रहरीले भने सनाखत भइनसकेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोवाङका अनुसार घटनाको जानकारी पाए लगतै २:३५ बजे प्रहरी वरिष्ठ नायब निरीक्षक सुबिन शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थिए ।
प्रहरीले विवरण संकलन गर्ने क्रममा दिउँसो ४:२० बजेसम्म दुई जना महिला गोठाला पहिरोमा पुरिएको पुष्टि गरेको छ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको शाहले जानकारी दिनुभयो ।












