काठमाडौँ । राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आगामी प्रदर्शनलाई सरकारले नियोजित रूपमा आक्रमण गरी अराजक र हिंसात्मक बनाउने खतरा देखिएको बताएको छ। समितिका संयोजक नवराज सुवेदीले बुधबार मानवअधिकारवादी संघसंस्था र सञ्चार जगतलाई विशेष चनाखो भएर अनुगमन गर्न अपिल गरेका छन्।
२०८१ चैत्र १५ गते तीनकुने घटनाजस्तै यसपटक पनि सरकारले निशस्त्र र शान्तिपूर्ण प्रदर्शनकारीमाथि बर्बर दमन गर्ने संकेत देखिएको छ। प्रधानमन्त्री केपी ओलीले जेठ १५ गते काठमाडौँ नियन्त्रणमा लिने घोषणा र आन्दोलनमाथि प्रतिबन्ध लगाउने धम्कीले यस्तो आशंका बढाएको समितिले जनाएको छ। सुवेदीले जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण हुने समेत बताएका छन् र नागरिक सर्वोच्चता, प्रजातन्त्र तथा मानवअधिकारको मूल्यमा संयुक्त जनआन्दोलन समिति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।












