१४ जेठ, काठमाडौं — बम विस्फोटमार्फत व्यक्ति हत्या गरेको आरोप खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम उच्च अदालतबाट निर्दोष ठहर भएका छन्। रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको यो मुद्दामा उच्च अदालत वीरगञ्जको इजलासले आलमलाई सफाइ दिएको हो। २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो रात, चैत २७ गते रौतहटको राजपुरस्थित इँटाभट्टामा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिहरूलाई जिउँदै जलाएर हत्या गरिएको आरोप आलममाथि लागेको थियो। अनुसन्धानका अनुसार, बम विस्फोटपछि घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने डरले इँटाभट्टामा हालेर जलाइएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार, केही पीडितहरूले बाँच्न याचना गरेका थिए।
प्रारम्भिक अवस्थामा प्रहरीले घटनास्थलमा कुनै विस्फोट नभएको भनी मुचुल्का तयार पारेको थियो। जिल्ला र पुनरावेदन सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने राय दिएपछि २०६५ सालमा तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले मुद्दा नचलाउने निर्णय गरेका थिए। पीडित पक्षको निवेदनपछि सर्वोच्च अदालतले घटनामा प्रमाण भेटिएको अवस्थामा मुद्दा नचलाई पीडितको मौलिक हक हनन हुने ठहर गर्दै अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। त्यसपछि, १९ असोज २०७६ मा आलमलाई पक्राउ गरिएको थियो। उनविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी तीनवटा मुद्दा दायर भएका थिए। रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्ने आदेश दिएको थियो।
सरकारी पक्षबाट दयानिधि रिजाल, बद्री कार्की र पुष्पराज पौडेलले बहस गरेका थिए भने आलमको पक्षबाट नेपाल बार अध्यक्ष गोपालकृष्ण घिमिरेसहित ९ जना कानुन व्यवसायीले पक्ष राखेका थिए। बहसपछि उच्च अदालतले आलमलाई सफाइ दिएको हो। बम काण्डमा मृत्यु भएका ओसी अख्तरकी आमाको समेत २०६७ माघ ८ गते गोली हानी हत्या गरिएको थियो, तर सो घटनामा आजसम्म अनुसन्धान अघि बढेको छैन।












