मकवानपुर — हेटौंडाको मुख्य बजार राप्तीरोडमा एक व्यवसायीमाथि सांघातिक आक्रमण गरेको आरोपमा ३५ वर्षीय विजय थिङलाई पक्राउ गरिएको छ। विजय थिङ हेटौंडा-१२ पदमपोखरीका रहेका छन्। बिहीबार दुपुर्वेला हेटौंडा-१० राप्तीरोडस्थित ‘दास ईम्पोरियम’ कपडा पसलका सञ्चालक करिब ६१ वर्षका विन्दल दासमाथि थिङले आक्रमण गरेको प्रहरीले जनाएको छ। कपडाको मूल्य बढी भएको भन्दै विवाद हुँदा थिङले अश्लील शब्द प्रयोग गर्दै दासको टाउकोमा काठको बेलना प्रहार गरेका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार, “कपडा किन्ने क्रममा मूल्य विवादमा आरोपित विजय थिङले पसल सञ्चालकको टाउकोमा काठको बेलना प्रहार गरी गहिरो चोट पुर्याएका छन्। थिङलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान भईरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र खोजी कार्य समेत भइरहेको छ।”
राप्तीरोडको व्यस्त बजार र जिल्ला प्रहरी कार्यालय नजिकै दिउँसो भएको यो सांघातिक आक्रमणले सामाजिक सञ्जाल र स्थानीय समुदायमा प्रहरी प्रशासनप्रति प्रश्न उठाएको छ। आक्रमणको संदिग्ध मानिएका करिब १५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। दासको टाउकोमा चोट लागेको छ र हाल उनी हेटौंडा अस्पतालमा उपचाररत छन्। यस घटनाप्रति मकवानपुर उद्योग वाणिज्य संघ लगायत विभिन्न व्यवसायी संघसंस्थाले कडा विरोध प्रकट गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।












