२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान

काठमाडौँ — गत चैत १५ गते तीनकुनेमा भएको राजतन्त्र पक्षधर हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा परेको सात जनालाई शुक्रबार काठमाडौं जिल्ला अदालतको आदेशपछि डिल्लीबजार कारागारमा राखिएको छ। कारागार चलान हुनेहरूमा दुर्गाप्रसाद प्रसाईं, तारा राजावादी (सरोज गौतम), अनुप राजावादी (गोकर्ण शाही), डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराल रहेका छन्। डिल्लीबजार कारागारका प्रशासक बाबुराम आर्यालका अनुसार, सातै जनालाई शुक्रबार दिउँसो कारागार ल्याइएको हो। बिहीबार राति न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरूलाई थुनामा राख्न आदेश जारी गरेको थियो। साथै, ३२ जनालाई धरौटीमा छोड्न आदेश दिइएको थियो।

सरकारी वकिलको कार्यालयले दुर्गाप्रसाद प्रसाईंसहित ५० जनाविरुद्ध र अर्को ११ जनाविरुद्ध छुट्टाछुट्टै अभियोगपत्र बनाएर ११ जेठमा मुद्दा दायर गरेको थियो। यसअन्तर्गत आपराधिक उपद्रवमा संलग्न ११ जनालाई पहिले नै धरौटीमा छुटाइएको छ। ५० जनामध्ये उपस्थितहरूको बयान र थुनछेक बहसपछि अदालतले कारागार चलान गर्ने निर्णय गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवम् सांसद धवलशमशेर राणा लगायत ११ जना हाजिरी जमानीमा छुटेका छन्, तर अहिले उनीहरू सम्पर्कमा छैनन्। अदालतले उनीहरूलाई फरार प्रतिवादी घोषणा गरी पक्राउ पुर्जी जारी गर्ने प्रक्रियामा छ। यसअघि प्रहरीले पनि हाजिरी जमानीमा छुटेका विरुद्ध कानुनी कारबाही अघि बढाएको थियो। धरौटीमा छुट्न आदेश पाएकाहरूलाई १० हजारदेखि १ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

सरकारले ५० जनालाई राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधजस्ता गम्भीर मुद्दामा आरोप लगाएको छ। साथै, हिंसात्मक प्रदर्शनमा संलग्न चार बालबालिकामाथि बाल अदालतमा पनि मुद्दा दायर गरिएको छ। तीनकुने प्रदर्शन हिंसात्मक हुँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए भने तीमध्ये तीन जनाको अझै उपचार भइरहेको छ। घाइतेमध्ये उदयपुरकी रेबिका खत्री, भोजपुरका डिल्लीप्रसाद लुइँटेल र काभ्रेका रामहरि (रिदम) श्रेष्ठ उपचाररत छन्। प्रहरी तथ्यांक अनुसार, उक्त प्रदर्शनका क्रममा ५६ वटा घर, संस्था र कार्यालयमा तोडफोड र आगजनी भएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।