जुम्ला — कर्णाली राजमार्गको महत्वपूर्ण सडकखण्ड अन्तर्गत पर्ने जुम्लाको तातोपानी–१ स्थित बाइराँकामा शुक्रबार बिहान ठूलो मात्रामा सुक्खा पहिरो खसेको छ। पहिरोले सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएसँगै जुम्ला सदरमुकाम खलङ्गाबाट छुट्ने कालिकोटको नाग्मा हुँदै सुर्खेत, नेपालगञ्ज र मुगुको गमगडी जाने सबै सवारीसाधन ठप्प भएका छन्। ठूला ढुङ्गा र माटो मिश्रित पहिरोको कारण उक्त सडकखण्डमा यात्रा गर्ने यातायातका साधनहरू रोकिएका छन्। सवारी साधन चालक र यात्रुहरू करिब केही घण्टादेखि सडक अवरुद्ध भएको कारण अलपत्र परेका छन्।
सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिनुहुँदै भने, “घटनास्थलमा आवश्यक जनशक्ति र मेसिनरी उपकरणहरु समयमै पुगिसकेका छन्। अहिले पहिरो पन्छाउने काम तीव्र गतिमा जारी छ। हाम्रो प्रयास छ, सकेसम्म छिटो सडक खुला गरौँ।” उनले आगामी दुई घण्टाभित्र उक्त सडक सञ्चालनमा आउने अनुमान गरिएको बताए। पहिरो पन्छाउने काम पुरा भएसँगै यातायात पुनः सुचारु हुनेछ।
कर्णाली प्रदेशको मुख्य व्यापारिक र आवागमन मार्ग मानिएको यो सडकखण्ड अवरुद्ध हुँदा स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुहरूमा ठूलो समस्या उत्पन्न भएको छ। खाद्यान्न, तरकारी तथा दैनिक आवश्यक वस्तुहरु आपूर्ति प्रभावित भएको छ। स्थानीय प्रशासन र सडक विभागले आवतजावतमा थप समस्या नहोस् भनेर सक्रिय रुपमा काम गरिरहेको जनाइएको छ।












