काठमाडौं, ३१ असार — कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरले कम्पनीहरूलाई असार ३२ गतेसम्म विवरण बुझाएमा जरिवानामा ९० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै कम्पनी ऐन २०६३ को दफा ८१ को उपदफा (७) अनुसार कम्पनीहरूले ऐन बमोजिम समयमै बुझाउन बाँकी विवरण, सूचना वा जानकारी आगामी ३२ असारभित्र बुझाएमा निर्धारित जरिवानामा ९० प्रतिशतसम्म छुट पाइने स्पष्ट पारेको हो। कार्यालयका अनुसार सम्बन्धित कम्पनीहरूले सो विवरण अनलाइन प्रणाली ‘क्यामिस’ (CAMS) मार्फत अपराह्न ५ बजेभित्र प्रविष्ट गरिसक्नुपर्नेछ। समयावधि सकिएपछि छुटको सुविधा स्वतः खारेज हुने जनाइएको छ।
यो व्यवस्था विशेषगरी विभिन्न कारणले लामो समयदेखि अनिवार्य विवरण र प्रतिवेदन नबुझाएका कम्पनीहरूलाई सहजता दिन ल्याइएको हो। यसबाट कम्पनीहरूले कानुनी हैसियत कायम राख्न सक्ने र कारोबार पुनः सुचारु गर्न बाटो खुल्ने अपेक्षा गरिएको छ। कार्यालयले सबै सम्बन्धित कम्पनीहरूलाई उक्त छुटको लाभ लिन समयमै विवरण दर्ता गराउन आग्रह गरेको छ। यसले कम्पनीहरूको पारदर्शिता, वित्तीय अनुशासन र व्यवसायिक विश्वसनीयता कायम राख्न सहयोग पुर्याउने कार्यालयको भनाइ छ।








