२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

बीपी राजमार्गमा १ साउनदेखि रातिमा सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक, ३१ असार — मनसुनको सक्रियताका कारण बढ्दो बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले आगामी १ साउनदेखि रातिको समयमा बीपी राजमार्गमा सवारी चलाउन रोक लगाउने निर्णय गरेका छन्। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार, साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा कुनै पनि निजी वा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइनेछ। यो प्रतिबन्ध कम्तीमा १ महिनासम्म लागू हुने बताइएको छ। यसअघि असार ७ गतेदेखि राजमार्गमा साँझ ६:३० देखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो। तर, प्रतिदिनको वर्षाले पहिरो र सडक अवरोधका घटना बढेपछि निषेधित समय डेढ घण्टा अगाडि बढाएर साँझ ५ बजे सुरु हुने गरी नयाँ व्यवस्था गरिएको हो।

काभ्रेभञ्ज्याङ्गदेखि भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने राजमार्ग खण्ड बाढीपहिरोको दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण मानिन्छ। मनसुन सक्रिय रहँदा हरेक वर्ष यो खण्डमा सडक अवरुद्ध हुने, यात्रु अलपत्र पर्ने र जनधनको क्षति हुने गरेको छ। यही जोखिम न्यूनीकरणका लागि रातिको सवारी निषेध गरिएको हो। काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ भन्छन्, “मनसुनमा आकस्मिक पहिरो, बाटो अवरुद्ध र दुर्घटनाको सम्भावना बढेकाले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै रातिको समयमा सवारीमा रोक लगाइएको हो।”

काभ्रेपलाञ्चोक प्रशासनको प्रस्तावपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि मंगलबार सूचना जारी गर्दै निर्णयमा सहमति जनाएको छ। सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सूचनामार्फत रातिको सवारी निषेध १ साउनदेखि १ महिनासम्म लागू हुने जानकारी दिएका छन्। यसअघि असार ७ मा सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले पनि बाढीपहिरोको जोखिम न्युनिकरणका लागि यस्तो अस्थायी रोक लगाउने निर्णय गरेको थियो। प्रशासनले यात्रु, यातायात व्यवसायी र सम्बन्धित निकायहरूलाई सूचित गर्दै यात्राको योजना बनाउँदा रातिको समयभन्दा अघिल्लो वा बिहानको समयमै सवारी सञ्चालन गर्न अनुरोध गरेको छ। आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न पनि सुझाव दिइएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।