काठमाडौं, असार ३२ । भारतका एक राज्यस्तरीय कबड्डी खेलाडीको रेबिज संक्रमणबाट मृत्यु भएपछि काठमाडौंमा रेबिजप्रति डर र त्रास तीव्र रूपमा फैलिएको छ। महिनौँ वा वर्षौँअघि कुकुरले टोकेका तर खोप नलगाएका व्यक्तिहरू अहिले त्रसित भएर अस्पताल धाउन थालेका छन्। एक व्यक्तिले त्रसित हुँदै ओपीडी कक्षमा डाक्टरलाई भने, “६ महिनाअघि मलाई कुकुरले टोकेको थियो, राति निद्रै लाग्दैन, कतै मलाई रेबिज त भएन?” त्यस्तै अर्का ३८ वर्षीय पुरुष १२ वर्षअघि कुकुरले टोकेको अनुभव सुनाउँदै अहिले खोप लगाउन आएका थिए।
भारतीय मिडिया ‘द हिन्दू’ अनुसार, जुलाई ३ तारिखमा राज्यस्तरीय कबड्डी खेलाडी बृजेशको रेबिजबाट मृत्यु भएको पुष्टि भयो। उनलाई दुई महिना अघि कुकुरले टोकेको थियो। खोप नलगाउँदा मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोले आम जनमानसमा डर बढाएको छ। पछिल्ला केही दिनयता काठमाडौंका अस्पतालहरूमा दिनहुँ दर्जनौँ व्यक्ति रेबिजको डरले खोप लगाउन आउने गरेका छन्। उनीहरूमा समय, उमेर वा घटना फरक भए पनि एक समान डर– “अब रेबिज लाग्ने त होइन?”
इन्सेक्युलोजिस्ट डा. पुनका अनुसार, “रेबिजको मुख्य जोखिम औषधि पसलबाट दिइने गलत सल्लाह हो। धेरै अवस्थामा टिटानस खोप लगाए पुग्छ भनिएको हुन्छ, जसले जीवन गुमाउन पुग्छ।” विगतमा रेबिजबाट ज्यान गुमाएकाहरूको केस स्टडी गर्दा धेरैले कुकुर देखिएकै कारण खोप नलगाउने सल्लाह पाएको पाइन्छ। टोक्ने जनावर सानो थियो, घाउ गहिरो थिएन, वा टोकाइको कुरा परिवारलाई लुकाउने जस्ता कारण पनि देखिएको छ। टोक्ने कुकुर १० दिनसम्म बाँचेको/सञ्चो थियो भने खतरा हुँदैन। – टोक्ने जनावरको अवस्थाबारे जानकारी नभएमा, रेबिजको लक्षण वर्षौंसम्म देखा पर्न सक्छ। – नेपालमा औसतमा रेबिजको लक्षण टोकाइको ४–६ महिनापछि देखिने गरेको छ।
भिडियोले जनचेतना त बढाएको छ, तर अनावश्यक मानसिक त्रास पनि फैलाएको छ। कतिपयमा एंग्जायटी र निन्द्राको समस्या देखिन थालेको चिकित्सकहरूको अनुभव छ। नेपालमा रेबिज आज पनि ‘साइलेंट किलर’ का रूपमा सक्रिय छ। यो रोग देखा परेपछि बाँच्ने सम्भावना छैन। त्यसैले, कुकुर वा कुनै जनावरले टोकेपछि तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनु र खोप लगाउनु नै ज्यान जोगाउने एक मात्र उपाय हो।












