काठमाडौं, ५ साउन २०८२ — चर्चित सेयर कारोबारी दीपेन्द्र अग्रवालविरुद्ध ठगी र विश्वासघात अभियोगमा प्रहरीले ३ दिनको म्याद थप गरेको छ। काठमाडौं प्रहरी परिसरले सोमबार टोखाबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको हो। एसपी अपीलराज बोहराका अनुसार अग्रवालले २२ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक अनुसन्धानकै आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
अग्रवालले धितोपत्र दलाल कम्पनीहरू र व्यक्तिगत लगानीकर्तालाई लक्ष्य गरी नियोजित रूपमा ठगी गर्दै आएको आरोप छ। उनी सेयर सस्तोमा किनेको देखाएर सामाजिक सञ्जालमा महँगोमा बिक्री गर्ने सल्लाह दिन्थे। लगानीकर्ता सोही अनुसार सेयर किन्न थाल्दासाथ उनले आफ्ना सेयर महँगोमा बेच्ने गर्थे। प्रहरीका अनुसार अग्रवालले १५ वटा ‘ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS)’ खाता सञ्चालन गरेर बजारमा कृत्रिम कारोबार गर्दै मूल्य हेरफेर गर्ने गरेका थिए। आफ्नै खाता मार्फत सेयर किनबेच गरेर मूल्य चढाउने, अनि त्यो मूल्यमा अन्य लगानीकर्तालाई फसाएर आफू लाभ लिने उनको प्रवृत्ति रहेको खुलाइएको छ।
अग्रवालले अन्य व्यक्तिहरूका कारोबार खाता समेत आफैं चलाउने गरेको, एकको खाताबाट अर्काको खातामा पैसा ट्रान्सफर गर्ने, ब्रोकरसँग असुल गर्नुपर्ने रकम बुझाउने बेलामा झुट्टा बहाना गर्ने लगायत गतिविधि उजुरीका रूपमा धितोपत्र बोर्डमा पुगेपछि पक्राउ प्रक्रिया अगाडि बढाइएको हो। नेपाल धितोपत्र बोर्डले अग्रवालविरुद्ध आन्तरिक छानबिन गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाइसकेको छ। बोर्डका अनुसार सेयर बजारको पारदर्शिता र लगानीकर्ताको हितका लागि यस्तो कार्य गैरकानुनी मात्रै नभई खतरनाक प्रवृत्ति हो। दीपेन्द्र अग्रवालको गिराफ्तारीसँगै नेपाली सेयर बजारभित्र चल्दै आएको अनियमितताको पाटो पुनः सतहमा आएको छ। ठगीजस्ता गम्भीर अपराध नियन्त्रण गर्न नियामक निकाय र सुरक्षाप्रशासनको संयोजन आवश्यक देखिन्छ। लगानीकर्तालाई पनि यस्ता कृत्रिम उत्साह र भ्रामक सूचनाबाट सजग रहन विज्ञहरूले सुझाएका छन्।












