कञ्चनपुर, साउन १० — कञ्चनपुरमा थारु समुदायको पहिचान समेटिएको बाँसको छतरी लोपको अवस्थामा पुगेको छ। परम्परागत रूपमा खेतखरिहान र गोठालो यात्रामा प्रयोग हुने यो छतरी अहिले पुराना सम्झनामा मात्र सीमित हुँदै गएको छ। शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरीले भने, “बर्षातमा खेतमा काम गर्दा, गोरु जोत्दा वा गोठालो जाँदा छतरी अनिवार्य हुन्थ्यो। यो छतरी बलियो बाँस र महुराइनको पातबाट बनेको हुन्थ्यो जसले पानी चुहिन नदिने र हलुका हुने गर्थ्यो।” उनले भने, “छतरी पाँच वर्षभन्दा बढी टिक्ने र विभिन्न आकारमा प्रचलित थियो — ठूलो गोलो छतरी, टाउको मात्र छोप्ने सानो छतरी र त्रिकोणाकार स्यांगो।”
तर आधुनिक र सस्तो छाता तथा रेनकोट सजिलै उपलब्ध भएपछि छतरी बनाउने सीप र चलन लोप हुँदै गएको छ। बाँस र महुराइनको पात मुख्य रूपमा चुरे क्षेत्रका वनबाट सङ्कलन गरिन्थ्यो, तर वनमा अनुमति बिना प्रवेश गर्न नपाइने र पात टिप्न झन्झटका कारण छतरी बनाउने काम ठप्प भएको छ। कलंकबहादुर चौधरीले भने, “थारु परम्परामा ससुराली जाँदा छतरी र अन्य हस्तकलाका सामग्री उपहार दिन्थे, तर अहिले त्यो चलन लगभग समाप्त भएको छ। पातलाई पवित्र मानिएकोले पूजामा पनि प्रयोग हुन्थ्यो, तर अहिले सातको पातले काम चलाइन्छ।”
आजका युवाहरू छाता र प्लास्टिकका सजिला सामानप्रति आकर्षित भएका कारण बूढापाकाले छतरी बनाउने सीप सिकाउन सकिरहेका छैनन्, जसले गर्दा छतरी जस्ता परम्परागत वस्तुहरू लोप हुँदैछन्। धनिराम चौधरीले स्थानीय सरकार र सरोकारवाला निकायलाई छतरी लगायत मौलिक हस्तकलाको संरक्षण र प्रचारप्रसारका लागि कार्यक्रम थाल्न आवश्यक रहेको बताएका छन्। नत्र यी वस्तुहरू भविष्यमा केवल सङ्ग्रहालयमा मात्र सीमित हुने खतरा रहेको छ।









