पूर्वी नाका काँकडभिट्टा–पानीटंकी मार्फत बंगलादेशी नागरिकहरू नेपाल प्रवेश गर्ने प्रमुख मार्गको रुपमा परिचित छ। कोरोना महामारीपछि यो नाकामा निगरानी अझ कडा गरिएको छ भने ‘आईडी भेरिफिकेसन’ अनिवार्य बनाइएको छ। भारत–पाकिस्तानबीचको तनावपछि यो कडाइ झनै बढाइएको छ। भारतले करिब तीन वर्षसम्म बंगलादेशी नागरिक र तेस्रो मुलुकका पर्यटकलाई नेपाल जाने अनुमति दिएको थिएन, तर हाल त्यो प्रतिबन्ध हटेको छ। तर, बंगलादेशी नागरिकका लागि भारतले अझै ‘एक्जिट’ अनुमति दिन मानेको छैन। विशेषगरी शेख हसिनाको सत्ता पतनपछि भारतले बंगलादेशीहरूको आवागमनमा कडाइ गरेको देखिन्छ।
यस कडाइका बाबजुद पनि केही बंगलादेशीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने प्रयासमा छन्। केही दिनअघि सीमावर्ती भारतीय क्षेत्र खोरीबारीबाट एक बंगलादेशी नागरिक पक्राउ परेका थिए। तर पछिल्लो अनौठो घटना भने भारतको पानीटंकी नाकाबाट उनी नेपाल तर्फ होइन, नेपालबाट भारततर्फ प्रवेश गर्ने क्रममा पक्राउ परे। पक्राउ पर्ने व्यक्ति नाटोर जिल्लाका २६ वर्षीय हृदायत खान थिए, जो मानव तस्करीको जालमा परेका थिए। उनी काठमाडौंमा लुटिएपछि भारत हुँदै बंगलादेश फर्किन खोजिरहेका थिए। उनीसँग न त पासपोर्ट थियो न पैसा। उनले भारतमा एक दलालको सहयोग लिई मेची नदी तरेर अवैध रुपमा प्रवेश गरेका थिए।
हृदायतले प्रहरीलाई दिएको बयानमा भनेका छन् कि उनी सर्बिया जानका लागि करिब एक वर्षअघि काठमाडौं आएका थिए, तर पासपोर्ट र पैसा लुटिएपछि योजना असफल भयो। काठमाडौंको लाजिम्पाटस्थित यशिन होटलमा उनी बसोबास गरिरहेका थिए जहाँ अन्य बंगलादेशीहरू पनि सर्बिया र युरोप जानको सपना लिएर बसेका थिए। नेपालमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानका नागरिकहरू गैरकानुनी रुपमा तेस्रो मुलुक जान नेपाललाई ट्रान्जिट मार्ग बनाउँदै आएका छन्। प्रहरीका अनुसार नेपालमा विदेशी नागरिकहरूले स्थानीय एजेन्ट र केही होटल सञ्चालकहरूको सहकार्यमा नक्कली कागजात बनाएर युरोप जाने प्रयास गरिरहेका छन्।
गत असोजमा १५ जना बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्रोएसिया जान खोज्दा पक्राउ परेका थिए। उनीहरूले भारतस्थित क्रोएसियाली दूतावासबाट भिसा प्रक्रिया पूरा गरी नेपाललाई वैकल्पिक मार्गको रुपमा प्रयोग गरेका थिए। नेपालमा पछिल्लो समयमा मानव तस्करी गिरोह सक्रिय भएका छन्। साउनमा पोल्यान्ड पठाउने प्रलोभन देखाएर बंगलादेशीलाई बन्धक बनाउने गिरोह प्रहरीले पक्राउ गरेको थियो। गिरोहले २१ जना बंगलादेशीबाट ५० हजारदेखि १० लाख टाकासम्म असुली गरेको थियो।
अघिल्लो महिना पनि पाँच जना बंगलादेशी नागरिक युरोप पठाउने प्रलोभनमा ठगी गरेको आरोपमा पक्राउ परेका थिए। यस गिरोहको जालमा परेका हृदायत खानजस्ता नागरिकहरूको सपना युरोप पुग्ने होइन, भारतको जेलमै रोकिएको छ। सुरक्षा निकायहरूले नेपाललाई मानव तस्करी र गैरकानुनी आप्रवासनको ट्रान्जिट मार्ग बन्नबाट रोक्न विशेष कदम चाल्नुपर्नेमा जोड दिएका छन्।












