पोखरा, कास्की — शुक्रबार बेलुकी पोखरा महानगरपालिका–१०, पृथ्वीचोकस्थित चाइना पुलबाट सेती नदीमा हामफालेका करिब २०/२१ वर्षका एक युवकलाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणका विपद् व्यवस्थापन टोलीलाई सूचना प्राप्त हुनासाथ घटनास्थलतर्फ खटिएको थियो। सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, टोलीले राति करिब ९:३५ बजे ४५ मिनेटसम्मको सक्रिय प्रयासपछि नदीको लगभग १०० मिटर तलको खोल्साबाट अर्धचेत अवस्थामा युवकलाई उद्धार गरेको थियो।
उद्धारपछि युवकलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको छ। प्रहरीले घटनाको थप कारण अनुसन्धान गरिरहेको छ।स्थानीयले पुलबाट हामफाल्ने जोखिमका विषयमा सतर्कता अपनाउन आग्रह गरेका छन् भने सशस्त्र प्रहरीले पनि नदी किनारामा थप सुरक्षा प्रवन्ध गर्न कदम चाल्ने प्रतिबद्धता जनाएको छ।












