४ जेठ, चितवन । गत साता आएको हावाहुरीसहितको वर्षाले चितवन जिल्लाको केराखेतीमा करिब २० प्रतिशत क्षति पुर्याएको छ । केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोका अनुसार पूर्वी र पश्चिम चितवनका विभिन्न स्थानमा लगाइएको केरामा उल्लेखनीय क्षति भएको हो । उनका अनुसार बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगर क्षेत्रका केराखेतीमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको छ । त्यस्तै शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नं २३ र २६ तथा ठिमुरा क्षेत्रमा समेत क्षति भएको छ ।
केराखेती गर्दै आएका कालिका नगरपालिकाका किसान माधव घिमिरेले उत्पादन लिने अन्तिम समयमा हुरीले बोट र फल दुबैमा क्षति पुर्याएको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीबाट भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको छ । चितवन जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातका केरा लगाइने गरिन्छ । तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको केराखेतीमा ७०० भन्दा बढी किसान संलग्न रहेका छन् । हावाहुरीले उत्पादनमा असर पार्ने देखिएपछि किसानहरुमा चिन्ता थपिएको छ ।












