४ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले सगरमाथा सम्वादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) को सफल आरोहण गरेका छन्। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएपी शैलेन्द्र थापाका अनुसार छत्यालले जेठ ४ गते बिहान ९:२० बजे सगरमाथाको चुचुरोमा सशस्त्र प्रहरी बल नेपालको झण्डा र “सगरमाथा सम्वाद” कार्यक्रमको ब्यानर फहराएका हुन्। उनीसँगै वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गरेका छन्।
जेठ २ देखि ३ गतेसम्म सञ्चालित “सगरमाथा सम्वाद” कार्यक्रममार्फत जलवायु परिवर्तन, वातावरणीय संरक्षण र शान्तिको सन्देश विश्व समुदायमा प्रवाह गर्ने उद्देश्यले छत्याल सद्भावना दूतका रूपमा सगरमाथा आरोहणमा गएका थिए। यसअघि वैशाख २२ गते छत्यालले ६,११४ मिटर अग्लो लोबुचे हिमाल पनि सफलतापूर्वक आरोहण गरेका थिए। सगरमाथा आरोहणका लागि उनी वैशाख १५ गते प्रस्थान गरेका थिए। उनलाई त्यसअघि वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले औपचारिक रूपमा बिदाइ गरेका थिए। सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयअन्तर्गत उच्च भू-भाग विपद् उपशाखामा कार्यरत छन्।












