५ जेठ, विराटनगर । मोरङमा भएको एक सवारी दुर्घटनामा कोशी प्रदेशका चारजना सांसद सवार गाडी र एक प्रहरी अधिकृत चढेको सवारी एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। सोमबार दिउँसो करिब २ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित सडक खण्डमा विपरीत दिशाबाट आउँदै गरेका दुई कार एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। झापाबाट विराटनगरतर्फ आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र बेलबारीबाट झापातर्फ जाँदै गरेको बीएई १४०६ नम्बरको कार आपसमा ठोक्किएका हुन्।
बा ५ च ३५३० नम्बरको कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाइरहेका थिए। बीएई १४०६ नम्बरको अर्को गाडीमा कोशी प्रदेश सभाका सांसदहरु मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए। उनीहरू प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए। दुर्घटनापछि दुबै सवारीमा रहेका सबै व्यक्तिहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












