५ जेठ, काठमाडौं । काठमाडौँबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको समिट एयरको एक विमान प्राविधिक समस्या देखिएपछि आकस्मिकरूपमा काठमाडौँमै अवतरण गरिएको छ। समिट एयरको उडान नम्बर ३०१ रहेको सो विमान सोमवार बिहान काठमाडौँबाट उडेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार विमान सोलुखुम्बुको फाफ्लु क्षेत्र नजिक पुगेपछि इञ्जिनमा समस्या देखिएको हो। त्यसपछि पाइलटले सुरक्षालाई मध्यनजर गर्दै तुरुन्तै काठमाडौँ फर्काउने निर्णय गरेका थिए।
विमान बिहान ७ बजेर २४ मिनेटमा त्रिभुवन विमानस्थलमा सुरक्षितरूपमा अवतरण गराइएको थियो। विमानमा चालक दलका सदस्यसहित जम्मा १९ जना सवार थिए। विमानस्थल कार्यालयका अनुसार सबै यात्रु सुरक्षित छन्। समिट एयरका अनुसार हाल प्राविधिक टोलीले इञ्जिनको समस्या पहिचान गरी मर्मत कार्य गरिरहेको छ। प्रारम्भिक विवरण अनुसार समस्या गम्भीर नभए पनि सावधानीका लागि थप जाँच र आवश्यक मर्मतपछि मात्र विमान पुनः सञ्चालनमा ल्याइनेछ। लुक्ला विमानस्थल (तेनजिङ-हिलारी) विश्वकै एक अत्यन्तै जोखिमपूर्ण विमानस्थल मानिन्छ। त्यहाँ मौसम र भौगोलिक स्थितिका कारण बारम्बार उडान सुरक्षालाई लिएर चुनौती देखा पर्न सक्छ।












