काठमाडौं, ६ जेठ — काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन्। गुरागाईंले कार्यालय हाजिर गर्न जाँदा अवरोध गरेको विषयलाई लिएर ७ दिनभित्र जवाफ दिन निर्देशन दिएका हुन्। गुरागाईंले भने, “म कार्यालयमा हाजिर गर्न जाँदा भएको घटनाका सम्बन्धमा उहाँसँग स्पष्टीकरण मागिएको हो।”
महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी बल प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रहने प्रावधान छ। तर प्रमुख प्रशासकीय अधिकृत गुरागाईं गत पुस ७ देखि विदामा बसेपछि चैत २१ गते कार्यालय फर्किंदा उनलाई नगर प्रहरी प्रमुख पाण्डेले कार्यालय प्रवेशमा अवरोध पुर्याएको आरोप लागेको हो।
गुरागाईंका अनुसार उक्त दिन उनका प्रयोगमा रहेको सरकारी गाडीमा ह्विल लक गरिएको, कार्यालयको ढोका थुनेर प्रवेशमा अवरोध गरिएको, हाजिर पुस्तिका कब्जामा लिइएको र प्रमुख प्रशासकीय अधिकृतको कोठामा ताला लगाइएकोजस्ता गतिविधि भएका थिए। साथै, जनप्रतिनिधिप्रति अमर्यादित व्यवहारसमेत गरिएको भन्दै ती सबै आधारमा पाण्डेसँग लिखित स्पष्टीकरण मागिएको हो। प्रशासकीय जिम्मेवारी स्पष्ट नभएको र आन्तरिक विवाद चर्किँदै गएको सन्दर्भमा यो विषयले काठमाडौं महानगरपालिकाको प्रशासनिक संरचना र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।












