काठमाडौँ, ७ जेठ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङबारे विदेशी नागरिकहरूले झुटा गुनासा गरेर दुष्प्रचार फैलाउने गरेको गुनासो गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विदेशबाट फोन गरेर नेपालमा बत्ती गएको बताउने र त्यसले अनावश्यक भ्रम फैलाउने काम भएको उल्लेख गरे।
‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक–पटक आएका छन्,’ मन्त्री खड्काले भने, ‘हामी कहाँ बत्ती गयो भन्छन्। तर सोधपुछ गर्दा त्यहाँ बत्ती गएको पाइँदैन। राति १२ बजे पनि एउटै नम्बरबाट बारम्बार फोन आउँछ। यस्ता झुटा सूचना दुष्प्रचार हुन्।’ उनले लोडसेडिङको वास्तविकता नबुझी सामाजिक सञ्जाल र अन्य माध्यमबाट झुटा सूचना प्रवाह गरिनु दुर्भाग्यपूर्ण भएको बताए। मन्त्री खड्काले यथार्थमा आधारित भएर मात्र प्रतिक्रिया दिन जनतालाई आग्रह गरे।
उनले भने, “उत्पादनमा कमी भएर होइन, कम उत्पादन भएको समयमा आयात गरेर भए पनि आवश्यक विद्युत् आपूर्ति गरिरहेका छौँ। लोडसेडिङ नभएको हो, अवरुद्ध भएको खण्डमा भने कारणसहित जानकारी दिइएको छ।” मन्त्री खड्काले ऊर्जा, पर्यटन र कृषि क्षेत्रलाई समृद्धिको आधारका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै नेपाललाई ऊर्जाको माध्यमबाट आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको जानकारी पनि दिए।












