काठमाडौँ, ७ जेठ। यस वर्ष नेपालमा प्रि–मनसुन गतिविधि तुलनात्मक रूपमा बढी सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेबिड ढकालका अनुसार सामान्यतया प्रि–मनसुन मार्चदेखि मे महिनासम्म रहन्छ, तर मे महिनामा देशभर बदली, पानी पर्ने, हावाहुरी, मेघगर्जन र चट्याङ पर्ने क्रम जारी छ। हाल देशभर पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा सक्रिय रहेको छ। यद्यपि मनसुन प्रवेश भएको जस्तो देखिए पनि अझै प्रि–मनसुन प्रणाली नै सक्रिय छ।
ढकालले भने, “प्रि–मनसुनमा कालो बादल बढ्दै जाँदा बिजुली चम्कने, चट्याङ पर्ने, हावाहुरी चल्ने र विभिन्न प्रकारका वर्षा हुने गर्छ। केही ठाउँमा असिना पर्छ भने कतै हल्का वर्षा मात्र हुन्छ।” जलवायुविज्ञ ङमिन्द्र दाहालले प्रि–मनसुनलाई उत्तर–पश्चिम चिसो हावा र दक्षिण–पश्चिम तातो हावाबीचको लुकामारी भएको बताए। पानी परे तापक्रम कम हुन सक्छ भने मनसुनमा पानी परेपनि तापक्रम सामान्यतया न्यानो हुन्छ।
गत हप्ता रोशी खोलामा आएको भारी वर्षाले बाढीको अवस्था उत्पन्न भई बीपी राजमार्ग १६ घण्टा अवरुद्ध भएको थियो भने पनौतीमा एक महिला बाढीले बगाएको घटना पनि भएको थियो। मौसमविद् उज्जवल उपाध्यायका अनुसार प्रि–मनसुनको वर्षातको दरमा आएको अचानक परिवर्तन र जलवायु परिवर्तनका कारण विपद् जोखिम बढेको छ। उपाध्यायले भने, “पहिले दुई दिनमा पर्ने पानी अहिले दुई–तीन घण्टामा पर्ने भएकाले बाढी र विपद् जोखिम बढेको छ। विश्वव्यापी जलवायु परिवर्तन र भूउपयोगमा आएको परिवर्तनले प्रि–मनसुनमा नै समस्या थप गरेको छ।” यसकारण अब सतर्कता र पूर्वसूचनाको व्यवस्था प्रभावकारी बनाउनु आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।












