८ जेठ, काठमाडौं — काठमाडौं जिल्ला अदालतले तीनकुने घटनासम्बन्धी मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले अनुसन्धानलाई थप अगाडि बढाउन भन्दै प्रहरीलाई अनुमति दिएको हो। गत १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजित राजावादी प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो, साथै आगजनी र लुटपाटका घटनाहरू पनि भएका थिए। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, घटनापछि नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ। तीमध्ये २८ जनामाथि राज्यविरुद्धको आरोपमा विशेष अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।
सोही दिन दुर्गा प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैं मोटरसाइकल कुदाउँदै प्रर्दशनस्थल पुगेको प्रहरीले जनाएको छ। त्यहीँबाट भिड अनियन्त्रित हुँदै हिंसा सुरु भएको थियो। घटना लगत्तै प्रसाईं भारततर्फ भागेका थिए तर पछि प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो।
तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशम्शेर राणासहित ३७ जना व्यक्ति भने हाल हाजिर जमानीमा रहेका छन्।
प्रहरीले अबको थप दुई दिनभित्र अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ। नेपालको कानुन अनुसार, कुनैपनि आपराधिक मुद्दामा सरकारी वकिलको कार्यालयले ६० दिनभित्र अभियोजनपत्र अदालतमा पेस गरिसक्नुपर्छ। तीनकुने हिंसा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको देखिन्छ। प्रमुख अभियुक्त प्रसाईँसहित हिरासतमा रहेका व्यक्तिहरूमाथि कस्तो कानुनी कारबाही अघि बढ्छ भन्ने कुराले यस घटनाको राजनीतिक तथा कानुनी असरलाई निर्णायक बनाउनेछ ।












