कास्की जिल्ला अदालतले सूर्यदर्श सहकारीको ठगी प्रकरणमा बागलुङको ढोरपाटन नगरपालिका प्रमुख तथा पूर्वसहकारी उपाध्यक्ष देवकुमार नेपालीलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनीविरुद्ध एक करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो माग गरिएको थियो। तर, नेपाली बागलुङस्थित इमेज सहकारी ठगी प्रकरणमा पहिले नै पुर्पक्षका लागि थुनामा रहेकाले तत्काल रिहा हुन नपाउने भएका छन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर निर्वाचित भएका थिए। कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले बिहीबार धरौटीमा रिहाको आदेश दिए पनि त्यसलगत्तै बागलुङ प्रहरीले उनलाई पक्राउ गरी पुनः बागलुङ कारागार पठाएको छ। सूर्यदर्शन सहकारी प्रकरणमा गत वर्ष पुस ७ गते पूरक अभियोगपत्र दर्ता गरिँदा नेपाली पनि प्रतिवादी रहेका थिए। उनी उक्त सहकारीमा २०६७ सालमा सदस्य, २०६८ मा उपाध्यक्ष समेत भएका थिए। प्रहरी र अदालतमा पेस भएको अभियोग अनुसार नेपाली उपाध्यक्ष रहेका बेला सहकारीबाट १८ करोड १२ लाख रुपैयाँ बराबरको रकम अपचलन भएको थियो। अध्यक्ष ज्ञानबहादुर बमजनको कार्यकालमा उनले सहकारीको रकम हिनामिना गरेको अभियोग छ।
देवकुमार नेपाली इमेज सहकारीका संस्थापक अध्यक्षसमेत हुन्। उनी भारतको दिल्लीबाट पक्राउ परेर १५ असोज २०८० मा बागलुङ जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भएका थिए। यो मुद्दा हालसम्म टुंगिएको छैन। नेपालीसहित ११ जनाविरुद्ध साउन २०८० मा सहकारी ठगी र सम्पत्ति रोक्का तथा जफतसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। इमेज सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा रहेको थियो भने शाखा कार्यालयहरू बुर्तिबाङ र गलकोटमा सञ्चालनमा थिए। यस सहकारीबाट करिब १ अर्ब ३० करोड रुपैयाँ ठगी गरिएको बताइएको छ। सञ्चालकहरूले उच्च ब्याजदरको प्रलोभनमा नागरिकबाट बचत संकलन गरी मनोमानी ढंगले रकम प्रयोग गरेका थिए। नेपालीले सोही रकम प्रयोग गरी बागलुङमा हेलिप्याडसहितको ढोरपाटन दरबार होटल, पोखरा र काठमाडौंमा व्यापारिक कम्प्लेक्स र आवासीय सम्पत्ति जोडेका थिए। उनका परिवारका नाममा काठमाडौं, पोखरा र बागलुङमा ५५ कित्ता जग्गा, दुई करोड ८६ लाखको ल्यान्डक्रुजर र ४२ लाखको स्कार्पियो समेत देखिएको छ।
सहकारी ठगीमा नेपाली मात्र थुनामा छन् भने अन्य दुई जना, गोर्खा सेभिङका ज्ञानबहादुर बमजन र सूर्यदर्शनका पूर्वअध्यक्ष जिबी राई फरार छन्। ती तीनै जना कुनै समय एउटै सहकारीमा आवद्ध थिए। ज्ञानबहादुरले २०६५ सालमा सूर्यदर्शन सहकारी खोलेका थिए र पछि पद जिबीलाई हस्तान्तरण गरेका थिए। विवादपछि देवकुमारले इमेज सहकारी स्थापना गरेका थिए। सहकारी दुरुपयोगसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार उनीहरूबीचको सम्बन्ध र सञ्जालले ठगीका विविध रूप देखाएका छन्। कास्कीका ५२४ र बागलुङका १,५४३ जना पीडितले उनीहरूमाथि उजुरी दिएका छन्।












