काठमाडौँ, जेठ ११ – संघीय राजधानी काठमाडौँ जोड्ने नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि हरेक दिन दिउँसो ४ घण्टा ३० मिनेटका लागि बन्द गरिने भएको छ। नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) अन्तर्गतको निर्माण कार्यका कारण यो निर्णय गरिएको हो। योजना कार्यालयले आजदेखि जेठ २५ गतेसम्म बिहान १०:३० बजेदेखि अपराह्न ३:०० बजेसम्म सडक बन्द गरी काम अघि बढाउने जनाएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार काठमाडौँ र धादिङका जिल्ला प्रशासन कार्यालयहरूसँगको समन्वयमा सडक बन्द गर्ने निर्णय गरिएको हो। नागढुङ्गा–पिपलामोड खण्डमा निर्माण कार्य गर्नका लागि सडक बन्द गर्नुपर्ने भएको जनाइएको छ। निर्माण अवधिभर काठमाडौँबाट बाहिरिने सवारी साधन नागढुङ्गामा र बाहिरबाट भित्रिने सवारी साधन खानीखोलामा रोकिने बताइएको छ। यसबीचमा प्रहरीले वैकल्पिक मार्गका रूपमा धार्के–सीतापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न सवारी चालकहरूलाई आग्रह गरेको छ ।












