काठमाडौं, १९ जेठ — राजतन्त्रको पुनर्स्थापनाका पक्षमा सक्रिय संयुक्त जनआन्दोलन समिति ले २४ वर्षअघि भएको दरबार हत्याकाण्डमा मारिएका दिवङ्गत सदस्यहरूको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ। समितिका संयोजक नवराज सुवेदीले सोमबार एक विज्ञप्ति जारी गर्दै जेठ १९ गते साँझ ६ बजे राजधानीको कमलादी गणेशस्थानमा दीप प्रज्वलन गरिने जानकारी दिएका हुन्। उनले दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै सो कार्यक्रममा सहभागी हुन सम्पूर्ण आम नागरिक, आन्दोलनकर्मी तथा राष्ट्रप्रेमी जनसमुदायलाई हार्दिक आमन्त्रण गरेका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार, शोकको दिवसमा कुनै पनि जुलुस, र्याली वा धर्ना जस्ता कार्यक्रमहरू नराखी, केवल दीप प्रज्वलनमार्फत श्रद्धाञ्जली अर्पण गरिनेछ। संयोजक सुवेदीका अनुसार, समितिले शालीन र मर्यादित ढंगले दिवङ्गत राजपरिवारप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यस्तो निर्णय लिएको हो। २०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारभित्र भएको भीषण हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायत १० जना शाही परिवारका सदस्यको मृत्यु भएको थियो। नेपाली इतिहासमा सबैभन्दा दर्दनाक घटनाका रूपमा लिइने यो हत्याकाण्ड अझै पनि अनेकौं रहस्यले भरिएको छ।
उक्त घटनाले नेपाली समाज, राजनीति र शासन प्रणालीमा गहिरो असर पारेको थियो। त्यसपछिका घटनाक्रमहरूले गणतन्त्र स्थापनातर्फ देशलाई उन्मुख गराएको थियो। संयुक्त जनआन्दोलन समितिले दरबार हत्याकाण्डलाई न केवल श्रद्धासाथ सम्झनु पर्ने दिन मानेको छ, तर वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै, राजसंस्थाको औचित्य र आवश्यकताको पुनर्विचार गर्नुपर्ने सन्देश पनि दिन खोजेको देखिन्छ।








