१९ जेठ, काठमाडौं । हालै सार्वजनिक यातायात व्यवसायीहरूले गरेको आन्दोलनसँगै अनलाइन राइड सेयरिङ कम्पनीहरूले भाडा बढाएको भन्ने हल्लाबारे स्पष्टिकरण दिएका छन्। प्रमुख सेवा प्रदायकहरू पठाओ र इन्ड्राइभले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यात्रुहरूलाई असमञ्जसमा नपर्न आग्रह गरेका छन्। पठाओले आफ्नो विज्ञप्तिमा भनेको छ, “हामीले कुनै पनि अतिरिक्त शुल्क लिएका छैनौं। एपमा देखिएको भाडा नियमित दरअनुसारकै हो। यात्रुहरूको असहजतालाई कम गर्न हामीले राइडरहरूलाई कम्पनीको तर्फबाट इन्सेन्टिभ र बोनस दिएर बढी राइड गर्न प्रोत्साहन गरिरहेका छौं।”
त्यस्तै, यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै पठाओले अफलाइन यात्रा नगर्न पनि आग्रह गरेको छ। “अफलाइन राइड गर्दा कुनै रेकर्ड नहुने, बीमा नभएको र ठगी, दुव्र्यवहारजस्ता घटनाको जोखिम हुने भएकाले मोबाइल एपमार्फत मात्रै सेवा प्रयोग गर्न अनुरोध गर्दछौं,” पठाओले उल्लेख गरेको छ। इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले पनि भाडा बढेको भन्ने हल्लालाई निराधार बताएकी छन्। “इन्ड्राइभ एपमा प्रारम्भिक भाडा देखाइए पनि अन्तिम भाडा यात्रु र चालकबीचको पारस्परिक सहमतिमा निर्धारण हुन्छ। यसले यात्रुलाई आफ्नो बजेटअनुसार सेवा छनोट गर्न सजिलो बनाउँछ,” उनले भनिन्।
उनका अनुसार उच्च माग भएको समय चालकहरूलाई थप प्रोत्साहन दिन कम्पनीले विशेष योजना ल्याएको छ। कार चालकहरूका लागि शून्य प्रतिशत कमिसन र मोटरसाइकल चालकहरूलाई बोनस दिइएको जानकारी पनि उनले दिइन्। राइड सेयरिङ कम्पनीहरू पठाओ र इन्ड्राइभले हालको आन्दोलनको समयमा सेवामा कुनै भाडा वृद्धि नभएको स्पष्ट पारेका छन्। उनीहरू यात्रुहरूको सुरक्षाका लागि अनलाइन माध्यममार्फत मात्रै राइड बुक गर्न आग्रह गर्दै सेवा निरन्तर सहज बनाइरहेको दाबी गर्छन्।








