२० जेठ, काठमाडौं | नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा नेवा र ताम्सालिङ जागरण अभियान सुरू गरेको छ। अभियानको औपचारिक उद्घाटन पार्टी अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले मंगलबार काठमाडौंमा गरे। तर उद्घाटन कार्यक्रममा प्रचण्डको भाषणमा व्यंग्यपूर्ण दोहोरो व्यवहार देखिएको छ। उनले अरू नेताहरूको अत्यधिक भाषणप्रति असन्तुष्टि जनाउँदै यस्ता कार्यक्रमले जनतालाई वाक्क बनाउने भन्दै आलोचना गरे। कार्यक्रममा प्रचण्डले सुरुमै भने, “यो कार्यक्रम अलि भाषण धेरै भयो जस्तो लाग्यो मलाई। यसरी अभियान हुँदैन। यसरी धेरै बोलेर मान्छेलाई थकाएर, वाक्क बनाएर अभियान हुँदैन।”
कार्यकर्ताले उनको उक्त अभिव्यक्तिलाई हुटिङ र तालीसहित स्वागत गरे। उनले भविष्यमा छोटो, जनमुखी र जनताको आवाज सुन्ने शैलीमा कार्यक्रम गर्न सुझाव समेत दिए। “अन्त यसो नगर्नुहोला। छोटो, मिठो भाषण, जनताको कुरा बढी सुन्ने र आफ्ना कुरा कम भन्ने।” अचम्म त के छ भने, प्रचण्ड आफैंले त्यसपछि करिब ४० मिनेट लामो भाषण दिए। उनले पार्टीका अभियान, सरकारको कामकाज, राष्ट्रिय राजनीति, आगामी कार्यक्रमहरू र कार्यकर्ताको भूमिकाबारे विस्तृत धारणा राखे। उनले पार्टी कार्यकर्तालाई भने, “भाषण गरेर जनतालाई नथकाउनुहोला। कार्यकर्तालाई नथकाउनुहोला। यस्तो गर्न हुँदैन भन्ने चेतना राखौं।”
राजनीतिक विश्लेषकहरूका अनुसार प्रचण्डको यस्तो व्यवहार नेताहरूको दोहोरो मापदण्डको एउटा झल्को हो। भाषणबाट जनता वाक्क छन् भन्ने स्वीकार्दा स्वीकार्दै, उनी आफैं भाषणको माध्यमबाट पुरानै शैली दोहोर्याइरहेका छन्। पछिल्लो समय विभिन्न दलहरूले जनतासँग प्रत्यक्ष संवाद गर्ने भन्दै अभियानहरू सञ्चालन गरिरहेका छन्। तर ती अभियान नेताकै घेरामा सीमित हुने र जनतासँग संवाद नगर्ने आरोप लगातार लाग्दै आएको छ। प्रचण्डको यो दोहोरो व्यवहारले सो आरोपलाई थप पुष्टि गरिदिएको देखिन्छ।












