२०८३ श्रावण १३ बुधबार
Search
२०८३ श्रावण १३ बुधबार

नेता गाउँ पस्दा मतदाता विदेशतिर : ६ महिनामै बाहिरिए ६ लाख युवा

काठमाडौँ । मुलुकमा चुनावी रौनक छाएको छ। आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि गत मंगलबार सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको काम भइसकेको छ ।

शुक्रबार उम्मेदवारहरूलाई आयोगले निर्वाचन चिह्नसमेत प्रदान गरिसकेको छ। देशभर ३ हजार ४ सय ३८ जनाले उम्मेदवारी दिएका छन्। देशभर निर्वाचनको चहलपहल बढेको छ ।

उम्मेदवारहरू घर–घरमा पुग्न थालेका छन् । कहिल्यै गाउँमा नपुगेका नेताहरू पनि भोटका लागि आफ्नो एजेन्डा लिएर गाउँ–गाउँमा पुग्न थालेका छन्। घर–घरदेखि हरेक चोक र सामाजिक सञ्जालमा समेत आगामी निर्वाचनको चर्चा व्यापक छ।

गत भदौ २३ र २४ गते सुशासन र भ्रष्टाचार अन्त्यका लागि भन्दै भएको जेनजी आन्दोलनको आडमा भएको राजनीतिक परिवर्तनसँगै विषम परिस्थितिमा निर्वाचन हुँदै छ । आगामी निर्वाचनमा नयाँ र वैकल्पिक राजनीतिक दल तथा युवा नेतृत्व स्थापित गर्ने उद्घोषका साथ पार्टीहरू चुनावी मैदानमा उत्रिएका छन् ।

केही राजनीतिक दलहरूले निर्वाचन अगाडि नै प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएका छन्। यो विगतभन्दा नयाँ अभ्यास देखिएको छ। तर जति नै युवा नेतृत्व ल्याई मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल बनाउने नारा लगाएर प्रचार गरे पनि बिदेसिने युवा रोकिएका छैनन् ।

गाउँ–गाउँमा भोट माग्न उम्मेदवार र पार्टीका नेता कार्यकर्ता पुगेका छन्। तर गाउँमा घर मात्रै छन्, मतदाताहरू छैनन्। धेरै युवाहरू सहरकेन्द्रित भएर बसेका छन् भने सहर आएकाहरू पनि वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जाने क्रम रोकिएको छैन ।

मुलुकमा निर्वाचनको माहोल ह्वात्तै बढेसँगै अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा विदेश जाने युवाहरूको भिड हरेक दिन उस्तै देखिन्छ ।

अहिले विमानस्थलमा दुई फरक दृश्य देख्न सकिन्छ। आन्तरिक विमानस्थलतर्फ निर्वाचनका लागि प्रचारप्रसारमा नेताहरूको दौडधुप देखिन्छ। विमानस्थलतर्फ हरेक दिन वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जाने युवाहरूको लाम देखिन्छ ।

विमानस्थलमा भेटिएका केही युवाले निर्वाचनले घर नचल्ने अवस्था भएकाले विदेश जान बाध्य भएको बताएका छन् ।

काठमाडौँमा रहेर लामो समय कलाकारिता र पत्रकारिता गरिरहेका विक्रम सुनार केही दिनअघि मात्रै पत्रकारिता छाडेर रोजगारीका लागि जापान पुगे। उनलाई निर्वाचन आउँदै छ भोट हाल्नुपर्छ भन्ने थियो। तर परिस्थितिले देश छाड्नुपरेको बताए ।

उनले भने, ’निर्वाचनमा भोट हाल्नु नागरिकको नैसर्गिक अधिकार हो । पेट पाल्नु भनेको बाध्यता हो। निर्वाचन आउँदै गर्दा विदेश जानु मनले नभई परिस्थितिले हो। विदेशमा जानु निर्वाचनप्रतिको असन्तुष्टि होइन । राजनीतिक अवस्थाले युवालाई बनाएको निराशा हो । अवसर भएको भए भोट हालेर देशभित्रै बस्ने योजना थियो। तर विगतमा पटक–पटकका निर्वाचनमा भोट हालेर जितायौँ तर युवाको मर्मअनुसार काम भएन ।’

उनले मुलुकमा अस्थिरता छाएकाले पनि युवाहरू निराशाका कारणले गर्दा विदेश जान बाध्य हुनुपरेको बताए ।

‘देशमा परिवर्तन भएको हेर्ने मन थियो, तर भोट हाल्न पाइएन,’ कतार जान लागेका रामेछापका कुमार रामको भनाइ थियो। उनले भोट हालेर राम्रो मान्छे जिताउन मन भए पनि परिस्थितिले विदेशको यात्रा गर्नुपर्ने अवस्था आएको बताए। ‘देशमा चुनाव आउँदै छ, नेताहरू भोट माग्न गाउँ पसेका छन्। मलाई पनि मतदान गरेर राम्रो मान्छे जिताउन मन थियो, तर भोट हालेर घरको चुल्हो बल्दैन,’ उनले भने, ‘परिवार पाल्न बिदेसिनुपर्‍यो ।’

देशमा बस्नेहरूले राम्रो मान्छेलाई जिताउने आशा राख्दै स्वदेश फर्कँदा मुलुकभित्रै केही गर्ने वातावरण बन्ने अपेक्षाका साथ देश छाड्न लागेको उनले बताए। ‘धेरै पटक भोट हालेर नेताहरूलाई जिताएकै हो, तर हाम्रो लागि केही भएन,’ उनको गुनासो थियो ।

त्यस्तै वैदेशिक रोजगारीका लागि जान लागेकी सपना राईको भनाइ पनि त्यस्तै थियो। उनले तत्कालका लागि नेतालाई भोटभन्दा पनि आफूलाई रोजगारीको आवश्यकता भएको बताइन्। नेतालाई जति भोट हाले पनि युवा विदेश जानुको विकल्प नभएको उनको गुनासो छ ।

उनले भनिन्, ‘पढेर देशमै केही गरौँ भन्ने थियो, तर कतै अवसर पाइएन। निर्वाचनमा मत जाहेर गर्न नपाए पनि यो पटक आउने नयाँ नेतृत्वले हामीजस्ता युवालाई बिदेसिनुनपर्ने वातावरण बनाइदेओस्। अर्को चुनावमा भोट हाल्न आफ्नै देशमा हुन पाइयोस्, यही आशा छ ।’

त्यस्तै, जापान जान लागेका अभिषेक सुनारको पनि त्यस्तै भनाइ छ। उनले पनि स्वदेशमा बस्ने वातावरण नहुँदा रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता भएको बताए। उनले विगतका दुई निर्वाचनमा भोट हालियो तर मुलुकमा रोजगारीलगायत युवाका लागि खासै योजना नआएको बताए ।

उनले भने, ‘मुलुक परिवर्तनको नारा लगाउनेहरू सत्तामा पुगेपछि हामीलाई बिर्सिन्छन्। हामी युवा नै यहाँ बसेर परिवर्तन ल्याउनुपर्ने हो, तर बाध्यताले राहदानी बोकेर हिँड्नुपरेको छ। चाँडै देश फर्केर मुलुकभित्रै केही गर्न सक्ने वातावरण बन्ने आशामा विदेशिएको छु ।’

नेपाली ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले राजनीतिक दलका घोषणापत्रमा नै युवालाई मुलुकभित्रै रोजगारीको सुनिश्चित गर्ने गरी कार्ययोजना बनाउन आवश्यक रहेको बताए। उनले चुनावमा भोट हाल्ने बेलामा युवा विदेश जानु राम्रो नभएको बताए ।

उनले भने, ‘युवा नेपालमा आउनुपर्ने अवस्थामा विदेश जान बाध्य छन्। अबको निर्वाचनमार्फत आउने सरकारले मुलुकभित्रै रोजगारी सिर्जना गरी युवा पलायनलाई कम गर्न सक्नुपर्छ ।’

उनले युवालाई मुलुकभित्रै रोक्न रोजगारीसहित सामाजिक सुरक्षालाई अझ प्रभावकारी बनाउन सक्नुपर्ने बताए ।

सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन सके मात्रै पनि वैदेशिक रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था नहुने उनको भनाइ छ। आगामी सरकारले श्रम बजार विस्तार गर्ने नीति ल्याउने मात्रै नभई कार्यान्वयन गर्ने गरी ल्याउन आवश्यक रहेको पनि उनले बताए ।

देशमा चुनावको रौनक व्यापक भए पनि अहिले पनि यसरी हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा बिदेसिरहेका छन्। श्रम र पसिना बिक्री गर्न बिदेसिएकाले नै पठाएका विप्रेषणले मुलुक चलेको छ। तर निर्वाचनको मुखमा युवा पलायन भएका छन् ।

६ महिनाको तथ्यांक
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ५ लाख ९० हजार ७ सय १८ पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ५ लाख १४ हजार ३ सय ५० पुरुष र ७६ हजार ३ सय ६८ महिलाले श्रम स्वीकृति लिएका हुन्, जसमा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो ६ महिनाको तथ्यांकलाई हेर्दा औसतमा प्रतिमहिना करिब ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ। यसै क्रममा पुसमा मात्रै कुल ६२ हजार ५ सय ५९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्, जसमा ५५ हजार ५ सय ४१ पुरुष र ७ हजार १८ महिला छन् ।

श्रम स्वीकृतिको प्रकृति र गन्तव्य
विभागको तथ्यांकअनुसार म्यानपावर कम्पनीमार्फत ३ लाख २५ हजार ४ सय ७ जना र व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना वैदेशिक रोजगारीमा गएका छन् ।

यस्तै ४ हजार ८ सय ६६ जना जी–टु–जी (सरकार–देखि–सरकार) मार्फत इजरायल, कोरिया तथा बेलायत गएका छन्। यो ६ महिनाको अवधिमा १४१ जना बिनाकागजात विदेशमा काम गर्दै आएका नेपालीलाई वैधानिकीकरण गरिएको छ। इजरायलमा मात्रै ६ महिनामा जी–टु–जी मार्फत ६०८ जना गएका छन् ।

पुसमा नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य साउदी अरब बनेको छ, जहाँ १३ हजार ३ सय २७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसैगरी कतारमा १२ हजार ४६, यूएईमा ९ हजार ५ सय १७, मलेसियामा ८ हजार ५ सय ३२ र कुवेतमा ४ हजार ३ सय ११ जना नेपाली पुगेका छन् ।

खाडीबाहेक युरोपेली मुलुक रोमानियामा २ हजार ८ सय ६१ र क्रोएसियामा ९ सय ९ जना नेपाली पुगेका छन्। जापान, ओमान र बहराइनमा पनि नेपालीको उपस्थिति उल्लेख्य छ ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।