२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

सुदूरपश्चिमदेखि गण्डकीसम्मका भूभागमा पानी र हिउँ पर्ने, कस्तो होला काठमाडौंको मौसम ?

१३ माघ, काठमाडौं । पश्चिमी निम्न चापीय प्रणालीको कारणले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका जिल्लाहरुका हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसमको यो बदलावले दैनिक कामकाज प्रभावित हुन सक्ने र चिसो बढेर स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले मौसमको अध्यावधिक जानकारी लिएर मात्र योजना बनाउन मौसमविदले सुझाव दिएका छन् ।

मौसमविद् सन्जिव अधिकारीका अनुसार आज माघ १३ गते मंगलबार दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै ठाउँमा हल्का हिउँ वा पानी पर्ने सम्भावना छ । ती दुवै प्रदेशका पहाडी र तराई क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना छ ।

उनका अनुसार रातितिर पानी पर्ने प्रणाली थप पूर्वतिर सर्दै जाने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही ठाउँमा मध्यम किसिमको हिउँ वा पानी पर्ने सम्भावना छ ।

‘यो प्रणालीको प्रभावले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका उच्च पहाडी र हिमाली भेगमा मध्यम खालको हिमपात हुन्छ । एक–दुई ठाउँमा त भारी हिमपात पनि हुनसक्ने सम्भावना छ,’ मौसमविद् अधिकारीले भने ।

बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा भने एक-दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

पानीको कुरा गर्नुपर्दा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँहरुमा मध्यम खालको वर्षा हुने सम्भावना छ । ती प्रदेशका तराईका भूभागमा भने हल्का पानी पर्ने सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित नै पानी पर्ने सम्भावना छ ।

काठमाडौंको मौसम कस्तो हुन्छ ?

मौसमविद् अधिकारीका अनुसार काठमाडौंमा पनि हल्का खालको पानी पर्ने सम्भावना छ तर बुधबार मात्र ।

‘भोलि बुधबारको दिन थप बादल बढ्ने र दिउँसोतिर काठमाडौंमा पनि हल्का किसिमको पानी पर्ने सम्भावना छ,’ उनले भने, ‘त्यति ठूलो पानी होइन, सामान्य पानी भोलि दिउँसो काठमाडौं उपत्यकामा पर्नेजस्तो देखिन्छ ।’

काठमाडौं उपत्यकाकै छेउँछाउँमा हिउँ पर्ने सम्भावना भने कम देखिएको उनले जानकारी दिए । ‘काठमाडौंभन्दा माथिल्ला भूभागमा र कोशी प्रदेशका हिमाली भेगसम्म पनि हल्का हिमपातको सम्भावना छ,’ उनले भने ।

बिहीबारदेखि मौसममा सुधार

मौसमविदहरुका अनुसार मौसममा आएको यो बदलाव बुधबारदेखि नै क्रमिक रुपमा सुधार हुँदै जानेछ । बिहीबारदेखि त पूरै मौसम सफा हुनेछ ।

‘बुधबार रातिदेखि नै क्रमिक सुधार हुने र पर्सि बिहीबारदेखि त उल्लेख्य सुधार हुन्छ मौसममा,’ मौसमविद् अधिकारीले भने ।

यसअघि अघिल्लो हप्ता मात्रै नेपालमा पश्चिमी निम्नचापीय प्रणालीको कारणले हिमपात र वर्षा भएको थियो । त्यतिबेला पनि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशका विभिन्न जिल्लामा पानी र हिउँ परेको थियो ।

यसपटकको यो प्रणाली अघिल्लो हप्ताको तुलनामा थोरै शक्तिशाली रहेको मौसमविदहरु बताउँछन् । त्यसैले यसको प्रभाव पहिलेको तुलनामा बढी पर्ने पूर्वानुमान छ । अर्थात् हिउँ र पानी पर्ने क्षेत्र विस्तार हुने सम्भावना छ । पानीको मात्रा पनि अघिल्लोपटकको भन्दा बढी हुने प्रक्षेपण गरिएको छ । यसले वायु प्रदूषणको मात्रा केही घटाउने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँद सुक्खा हुने प्रक्षेपण पहिले नै सार्वजनिक गरेको थियो । सो प्रक्षेपण मिलेको देखिन्छ । किनभने अघिल्लो हप्ताको पानी यस वर्षको हिउँदकै पहिलो हो ।

मौसमविद् मदन सिग्देल भन्छन्, ‘विगतमा हिउँद अवधिमा चार–पाँच पटकसम्म पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव नेपालमा आउने र पानी पर्ने हुन्थ्यो, तर पछिल्ला वर्षहरुमा त्यस्तो अवस्था छैन, जसले गर्दा हिउँदे झरी हराउँदै गएको छ ।’

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।