२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

निर्वाचन २०७० : प्रधानन्यायाधीशले गराएको चुनाव, मुलुकलाई नयाँ संविधान

२३ माघ, काठमाडौं । संविधानसभा सदस्य निर्वाचन २०६४ पछि गठन भएको संविधानसभाको पहिलो बैठक २०६५ जेठ १५ मा बस्यो । संविधान लेखनको जिम्मेवारी पाएका दलहरू संविधानसभाको पहिलो बैठकदेखि अन्तिम समयसम्म आरोप–प्रत्यारोपमै अल्झिरहे ।

दुई वर्षका लागि जनताबाट चुनिएको संविधानसभा चार वर्षसम्म पनि संविधान जारी गर्न नसकेपछि २०६९ जेठ १४ स्वत: विघटन भयो । संविधानसभा असफल भएपछि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्त्रिपरिषद् बैठकबाट मंसिर ७ का लागि संविधानसभाको नयाँ निर्वाचनको मिति घोषणा गरे ।

संविधानसभाका लागि नयाँ निर्वाचनको मिति घोषणा हुँदा विरोधमा देखिएका दलहरू अन्तत: प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनका लागि सहमत भए । रेग्मी नेतृत्वको सरकारले २०७० मंसिर ४ मा संविधानसभा सदस्य निर्वाचन २०७० सम्पन्न गर्‍यो ।

दोस्रो संविधनासभा निर्वाचनपछि २०६४ को जस्तै मिश्रित निर्वाचन प्रणाली अपनाइएको थियो । जसमा प्रत्यक्षतर्फ २४०, समानुपातिकतर्फ ३३५ र मनोनीत २६ गरी कुल ६०१ सदस्य थिए ।

तर, पछि २४ जना मात्र सदस्यहरू मनोनित भएका थिए । दोस्रो संविधानसभामा ५९८ सदस्य मात्र रहेका थिए । निर्वाचनको प्रयोजनका लागि १३० वटा राजनीतिक दलहरू निर्वाचन आयोगमा दल दर्ता भएका थिए । तर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १२० दलले मात्रै भाग लिएका थिए ।

 

माओवादी तेस्रो हुँदा कांग्रेसलाई सर्वाधिक सिट

निर्वाचनमा अघिल्लो निर्वाचनमा पहिलो भएको एकीकृत नेकपा माओवादी तेस्रो दलमा खुम्चिन पुग्यो । अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस सर्वाधिक मत ल्याएर पहिलो दल बन्यो ।

प्रत्यक्षतर्फ कांग्रेस २४० मध्ये १०५ स्थानमा विजयी भएको थियो । कांग्रेसबाट ९९ पुरूष र ६ महिला उम्मेदवारहरू निर्वाचित भएका थिए । कांग्रेसले २१५ पुरूष र २५ महिला उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा उतारेको थियो ।

दोस्रो भएको नेकपा एमाले ९१ क्षेत्रमा निर्वाचित भएको थियो । जसमध्ये ८८ पुरूष र ३ महिला उम्मेदवाहरू थिए । निर्वाचन आयोगले प्रकाशित गरेको ‘पहिलो हुने निर्वाचति हुने निर्वाचनको परिणाम पुस्तिका’ का अनुसार एमालेले २१४ पुरूष र २६ महिला उम्मेदवारहरू उठाएको थियो ।

उक्त निर्वाचनमा एकीकृत नेकपा माओवादी २६ स्थानमा समेटियो । माओवादीकातर्फबाट २५ पुरूष र एक महिला उम्मेदवारमात्रै विजयी भए । माओवादीले २१४ पुरूष र २६ महिला उम्मेदवारहरू खडा गरेको थियो ।

अघिल्लो संविधानसभा निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ २४० निर्वाचन क्षेत्रमध्ये १२० स्थानमा विजयको झण्डा फहराएको थियो ।

निर्वाचनबाट जित निकालेर माओवादीका तर्फबाट ९७ जना पुरूष र २३ जना महिलालाई उम्मेदवारहरूले संसदीय यात्रा तय गरेका थिए ।

उक्त निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ ३७ र एमाले ३३ निर्वाचन क्षेत्रमा मात्रै विजयी भएका थिए ।

संविधानसभा सदस्य निर्वाचन २०७० मातराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का समान चार–चार जना निर्वाचित भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन क्षेत्रमा जित निकाल्दा मधेशी जनअधिकार फोरम नेपालले दुई क्षेत्र जितेको थियो ।

यस्तै सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), तराई मधेश सद्भावना पार्टी नेपालले समान एक–एक स्थानमा जित निकालेका थिए । उक्त निर्वाचनमा दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

प्रत्यक्षतर्फ कांग्रेसलाई झन्डै २७ लाख मत

संविधानसभा सदस्य निर्वाचन २०७० मा प्रत्यक्षतर्फ कांग्रेसले सर्वाधिक मत पाएको थियो । आयोगको निर्वाचन परिणाम पुस्तिकाअनुसार कांग्रेसको पक्षमा २६ लाख ९४ हजार ९८३ मत आएको थियो । दोस्रो भएको एमालेको पक्षमा २४ लाख ९२ हजार ९० र माओवादीको पक्षमा १६ लाख नौ हजार १४५ मत खसेको थियो ।

राप्रपा नेपालले २५ लाख दुई हजार ५७९, तमलोपाले एक लाख ७१ हजार ८८९, फोरम लोकतान्त्रिकले दुई लाख ८३ हजार ४६८, राप्रपाको दुई लाख ३८ हजार ३१३ र फोरम नेपालको दुई लाख छ हजार ११० मत आएको थियो ।

मतदानमा उच्च सहभागिता

संविधानसभा सदस्य निर्वाचन २०७० मा निर्वाचन इतिहासमै उच्च सहभागिता भएको थियो । निर्वाचन आयोगका अनुसार तत्कालीन समयमा कुल मतदाता संख्या एक करोड २१ लाख ४७ हजार ८५६ थियो ।

जसमध्ये ७८.३४ प्रतिशत अर्थात ९५ लाख १६ हजार ७३४ मत खसेको थियो । खसेको मतमध्ये ९५.०४ प्रतिशत अर्थात ९० लाख ४४ हजार ९०८ मत सदर भएको आयोगको पुस्तिकामा उल्लेख छ । निर्वाचनमा ४.९६ प्रतिशत अर्थात चार लाख ७१ हजार ८२६ मत बदर भएको थियो ।

कांग्रेसबाट ६, एमालेका ३ र माओवादीका १ महिला उम्मेदवार विजयी

संविधानसभा सदस्य निर्वाचन २०७० सबैभन्दा बढी कांग्रेसबाट ६ महिला उम्मेदवारहरू निर्वाचित भएका थिए । यस्तै एमालेका तीन र माओवादीका एक महिला उम्मेदवार पनि विजयी भएका थिए ।

कांग्रेसका तर्फबाट सिराहा–३ मा सीतादेवी यादव, महोत्तरी–२ मा किरण यादव, कास्की–२ मा शारदा पौडेल, बागलुङ–३ मा ज्ञानकुमारी छन्त्याल, दाङ–१ मा पार्वता डिसी चौधरी र दाङ–२ मा सुशीला चौधरी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

आयोगका अनुसार एमालेबाट उदयपुर–२ मा मञ्जुकमारी चौधरी, बारा–४ मा नजमा खातुन र कास्की–४ सीता गिरी (ओली) तथा माओवादीबाट रोल्पा–२ मा ओनसरी घर्ती विजयी भएका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड नै पराजित

दोस्रो संविधानसभा सदस्य निर्वाचनसम्म आइपुग्दा माओवादीको लोकप्रियता घटिसकेको थियो । पहिलो संविधानसभामा प्रत्यक्षतर्फ १२० स्थानसहित पहिलो भएको माओवादी दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो भएको थियो ।

दोस्रो संविधानसभा सदस्य निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै पराजय व्यहोर्नु परेको थियो । उनी काठमाडौं–१० मा कांग्रेस नेता राजनकुमार केसीसँग पराजित हुनु परेको थियो ।

उक्त निर्वाचनमा केसी २० हजार ३९२ मतका साथ संविधानसभा सदस्य चुनिँदा प्रचण्ड १२ हजार ८५९ मत पाएर तेस्रो भएका थिए । कांग्रेस नेता केसीका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले १३ हजार ६१९ मत ल्याएका थिए ।

यो निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड सिराहा–५ बाट विजयी भएर संविधानसभा सदस्य बनेका थिए । यहाँ पनि उनी झिनो (९२१) मतान्तरले मात्रै विजयी भएका थिए ।

प्रचण्ड १५ हजार २४४ मतसहित संविधानसभा सदस्य निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी लिलानाथ श्रेष्ठ (एमाले) ले १४ हजार ३२३ मत प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ पनि कांग्रेस बलियो

संविधानसभा सदस्य निर्वाचन २०७० मा प्रत्यक्षतर्फ सर्वाधकि मत ल्याएको कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सबैभन्दा बढी मत पाएको थियो । आयोगका अनुसार सबैभन्दा ठूलो दल बनेको कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ २४ लाख १८ हजार ३७० मत पाएको थियो ।

एमालेले २२ लाख ३९ हजार ६०९ मत पाउँदा माओवादी १४ लाख ३९ हजार ७६२ मा खुम्चिएको थियो । संविधानसभा सदस्य निर्वाचन २०६५ मा माओवादीले सबैभन्दा बढी ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । उक्त निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसको २२ लाख ६९ हजार ८८३ र एमालेको २१ लाख ८३ हजार ३७० मत थियो ।

दोस्रो संविधानसभा निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपाल समानुपातिकतर्फ चौथो ठूलो दल बनेको थियो । उसले छ लाख ३० हजार ६९७ मत पाएको थियो । तत्कालीन समयमा ‘एक भोट दाइलाई, एक भोट गाईलाई’ नारा चर्चामा थियो ।

फोरम लोकतान्त्रिकले झन्डै पौने तीन लाख, राप्रपाले साढे दुई लाख बढी र जनअधिकार फोरमले सवा दुई लाखको हाराहारीमा समानुपातिकतर्फ मत पाउँदा अन्य दलहरूले दुई लाख मत कटाउन सकेका थिएनन् । चार दलले एक लाख मत कटाए पनि बाँकी दलहरूको पक्षमा त्योभन्दा कम मत खसेको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ कांग्रेसले ९१, एमालेले ८४, माओवादीले ५४, राप्रपा नेपालले २४, फोरम लोकतान्त्रिक र राप्रपाले १०–१० जनालाई संविधानसभा सदस्य बनाएका थिए । यस्तै फोरम नेपालले आठ, तमलोपाले सात, सद्भावना पार्टी, नेकपा माले, संघीय समाजवादी पार्टी नेपालले समान ५–५ जनालाई सभासद् बनाउने अवसर पाएका थिए ।

समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा राष्ट्रिय मधेश समाजवादी पार्टी, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेमकिपाले समान तीन–तीन सभासद् बनाउँदा पाँच दलले २–२, १० दलले समान एक–एक सिट समानुपातिकतर्फ पाएका थिए ।

संविधनासभा सदस्य निर्वाचन २०७० मा मतदाताको संख्या एक करोड २१ लाख ४७ हजार ८५६ थियो । जसमध्ये ८०.४८ प्रतिशत अर्थात ९७ लाख ७६ हजार ७०३ खसेको थियो । खसेको मध्ये ३.२० अर्थात तीन लाख १२ हजार ८४१ मत बदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।

मतदाताको आधारमा अधिकतम मतदान डोल्पामा ९५.४० प्रतिशत अर्थात १४ हजार १६७ मत खसेको । यहाँ १४ हजार ८६० मतदाता थिए । त्यस्तै न्यूनतम मतदान भएको रोल्पामा ६९.१२ प्रतिशत अर्थात ३६ हजार ३२७ मत खसेको थियो । यहाँ ५२ हजार ५५७ मत संख्या थियो ।

यही निर्वाचनबाट बनेको संविधानसभाले नेपालको संविधान २०७२ जारी गरेको थियो । संविधानसभाको निर्वाचनपछि सुशील कोइरालाको नेतृत्वमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो ।

यही संविधानसभाले २०७२ असोज ३ गते नेपालको वर्तमान संविधान जारी गरेको हो । यो निर्वाचनको कानुनी आधार बाधा अड्काउ फुकाउ आदेशमार्फत गठित चुनावी मन्त्रिपरिषद् र अन्तरिम संविधान थियो ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।