काठमाडौं, १ जेठ — देशभर गर्मीको मात्रा तीव्र रूपमा बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ। यिनै प्रणालीका कारण केही स्थानमा वर्षाको सम्भावना पनि रहेको छ। आजको मौसम पूर्वानुमान अनुसार पहाडी भू–भागमा दिउँसो आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने देखिएको छ।
विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा तथा अन्य केही पहाडी भागमा एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। पोखरा, ओखलढुंगा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जिरी र ताप्लेजुङलगायत क्षेत्रहरूमा वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी र हिमाली भू–भागमा पनि एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यसबाहेक, तराई तथा मध्य भू–भागमा गर्मी अत्यधिक बढेको छ। दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा आजको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियसको हाराहारी रहनेछ। राजधानी काठमाडौँमा पनि आजको अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ। विभागले तीव्र गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई सुझाव दिएको छ ।












