सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिका पछिल्लो समय फोहर व्यवस्थापनमा देशकै नमुना सहरका रूपमा स्थापित हुँदै गएको छ। स्वतन्त्र मेयर गोपाल हमालको नेतृत्वमा स्थानीय सरकार र नगरवासीको सहकार्यमा सञ्चालित व्यवस्थित सरसफाइ अभियानले नगरको रूपान्तरणमा उल्लेखनीय योगदान दिएको छ। अघिल्ला वर्षहरूमा सडकछेउमै फोहरको थुप्रो देखिने धनगढी अहिले स्वच्छ र व्यवस्थित सहरको रूपमा चिनिन थालेको छ।
उपमहानगरले स्रोतमै फोहर वर्गीकरण अनिवार्य गरेपछि नागरिकमा पनि चेतना विकास भएको छ। नगरका बासिन्दाहरू अहिले घरघरमै कुहिने, नकुहिने, स्यानिटरी र अन्य विशेष प्रकारका फोहर छुट्याएर अलग-अलग डस्टबिनमा राख्ने अभ्यासमा छन्। उपमहानगरले वर्गीकरण नगरिएको फोहर नउठाउने नीति लिएको छ भने जथाभावी फोहर फाल्नेलाई ५ सयदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था पनि लागू गरिएको छ। सरसफाइ टोलीले नियमित माइकिङ, टोल विकास संस्था, विद्यालय तथा आमा समूहहरूसँग मिलेर जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
धनगढी–२ मा स्थापना गरिएको सूक्ष्म वर्गीकरण केन्द्रमार्फत घर, होटल, कलकारखाना र बजारबाट संकलित फोहरलाई छानेर पुनः प्रयोगयोग्य वस्तु छुट्याइन्छ। कुहिने फोहर बायोग्याँस प्लान्टमा पठाइन्छ, जहाँ खाना पकाउने, वेल्डिङ गर्ने र सवारी चलाउने प्रयोजनका लागि ग्याँस उत्पादन गरिन्छ। बाँकी लेदो पदार्थ जैविक मलका रूपमा प्रयोग गरिन्छ।
बायोग्यास प्लान्ट ८ करोड अनुदान र २० करोड ८४ लाख निजी लगानीमा निर्माण भएको हो, जसलाई निजी कम्पनीले २० वर्षसम्म सञ्चालन गरेर उपमहानगरलाई हस्तान्तरण गर्नेछ। हाल प्लान्टले दैनिक ३० टन कुहिने फोहर प्रशोधन गर्न सक्ने क्षमता राख्छ। यस व्यवस्थापन प्रणालीमार्फत उपमहानगरले हालसम्म २२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ। चालु आर्थिक वर्षमा मात्र ठेक्का पाएको कम्पनीले ९४ लाख रुपैयाँ राजस्व उपमहानगरमा बुझाइसकेको छ। धनगढी उपमहानगरको यो प्रयासले नगरवासीमा सफाइप्रति जिम्मेवारी र स्वामित्वको भावना विकास गराएको छ। “हाम्रो धनगढी, सफा धनगढी” भन्ने नारासहित अगाडि बढिरहेको अभियानले धनगढीलाई साँच्चिकै नयाँ पुस्ताको स्वच्छ, सुदृढ र दिगो सहरको नमुना बनाउने सम्भावना उजागर गरिरहेको छ।












